बनेपामा सेयरका कारोबारी बढे

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार ०२:०१

काभ्रे । सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ ।

“समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ”– बनेपाका सेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भन्नुभयो । उहाँले करिब सात महिनादेखि सेयरका लागि काठमाडौँ जान बन्द गरेको उल्लेख गर्दै सेयर कारोबार गर्ने अधिकांश काठमाडौँ जादैनन् भन्नुभयो । भिजन सुक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीण क्षेत्रबाट सेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताउनुभयो ।

कारोबार बढेको समयमा त झन दबाब बढी हुन्छ त्यसैले पनि सेयर कारोबारप्रतिको आकर्षण बढी भएको देखाउँछ उहाँले भन्नुभयो । अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता सेयरको रु एक करोड १० लाख आठ हजार १२ को कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ । यसबाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर पाँचखाललगायतका क्षेत्रबाट पनि सेयर कारोबारका लागि आउने गर्छन् ।

(Visited 1 times, 1 visits today)

१३ कार्तिक २०७४, सोमबार ०२:०१ मा प्रकाशित