अमेरिकाको सुखसयल छोडेर देश विकास गर्न फर्किएका उदयशमशेर

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार ०६:३१

तरुण दलका पूर्वअध्यक्ष तथा अर्थ राज्यमन्त्री उदयशमशेर राणासँग राजनीतिका विकल्प अनेकौँ थिए । राणा परिवारमा जन्मिएका उदयले दार्जिलिङ, दिल्ली हुँदै अमेरिकामा अध्ययन गरे । अमेरिकाको अध्ययनपछि उनले त्यहाँ नै काम गर्ने वा आफ्नै व्यवसाय चलाउने अवसर पाएका थिए । तर, उनी फर्किएर नेपाल आए र आफूलाई राजनीतिमा होमे । अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकी विश्वविद्यालयबाट मास्टर्स सकेका उदय राजनीतिमा उदाउँदै छन् ।

कांग्रेस नेता तथा ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद उदयशमशेर राणालाई आकस्मिक परिस्थितिले राजनीतिमा उदय गराएको हो । र, राणालाई राजनीतिमा ल्याइदिने परिस्थितिचाहिँ उनका बाबु, कांग्रेस नेता सागरशमशेरले बनाएका हुन् । त्यो पनि सागरको योजनामा बनेको होइन, आकस्मिक रूपमा उदयले जुन अवसर पाए, त्यसले उनलाई राजनीतिमा होमिदियो ।

यो २०४६ सालदेखि उनी निरन्तर राजनीतिमा सक्रिय छन्। दिल्ली विश्वविद्यालयमा अध्ययन गर्नेबेला देखि उनी राजनीतिमा लागेका हुन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको अध्यक्षबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका हुन् उदयले। २०४८ सालको आमनिर्वाचनमा उनका बुबा सागर शम्शेर राणा उम्मेदवार बनेपछि उदय बुबासंगै चुनावी प्रचारप्रसारमा गाउँ गाउँ पुगे। आमजनतासंग साक्षात्कार गर्ने अवसर पाए। यसबीचमा उनी अध्ययनकै सिलसिलामा अमेरिका पुगे। अध्ययन पश्चात् उनले अमेरिकामा जागिरसमेत गर्न थाले। राम्रो सेवासुविधा थियो उनको त्यहाँ।

त्यतिबेला अमेरिका सबैको सपनाको देश थियो। थोरै संख्यामा मात्र नेपाली अमेरिकामा थिए त्यतिबेला। अमेरिकाको रमझम र आकर्षक जागिरले उनलार्इ भने कति पनि लोभ्याएन। उनलार्इ राजनीतिको लत नै लागिसकेको थियो। उनी नेपाल फर्किन चाहन्थे र राजनीतिमै जोडिन चाहन्थे। उनलार्इ धेरै साथीहरुले र आफन्तले नेपाल फर्किने निर्णयमा पुनर्विचार गर्न नसुझाएका होइनन्। राजनीतिप्रति आमनागरिकको दृष्टिकोण सकारात्मक थिएन। त्यसमा पनि अमेरिकामा पढेको र त्यँही राम्रो जागिर गरिरहेका उदयलार्इ धेरैले राजनीतिमा नलाग्न पनि भने। उनीहरुले परिवारको व्यापार सम्हाल्न पनि भने। तर उनी राजनीतिमा लाग्ने आफ्नो निर्णयमा अडिग रहे।

उदयको परिवारमा व्यापारमा पनि संलग्न थियो। उनलार्इ व्यापार गर्ने अवसर पनि थियो। तर उनी भने पढेलेखेका मान्छेहरु राजनीतिमा आउनुपर्छ भन्ने मान्यता राख्थे जसले गर्दा उनलार्इ राजनीतिको हुटहुटीले उनलार्इ न परिवारको व्यापारले आकर्षित गर्यो न त अमेरिकाको बसार्इले नै लोभ्यायो। उनी आफ्ना बुबालार्इ कन्भिन्स गर्न सफल भए र अमेरिकाको आकर्षक जागिर र बसार्इलार्इ बिट मार्दै नेपाल फर्किए। र फेरी राजनीतिमै लागे। उनको यो निर्णयमा परिवारले पूरा साथ दियो। उनी नेपाल आएपछि नेविसंघमै लागे।

त्यसको केही समयपछि नेपाली कांग्रेसले तरुण दल गठन गर्‍यो। उनी ललितपुर तरुण दलको पहिलो अध्यक्ष बने। त्यसलगत्तै सोसलिस्ट इन्टरनेसनलको अधिवेशन इटालीमा हुँदै थियो। उनी अधिवेशनमा सहभागि हुन गए। जहाँ उनी सोसलिस्ट इन्टरनेसनलको युवा विभागको उपाध्यक्ष चयन भए।

एकातिर सोसलिष्ट इन्टरनेसनलको युवा विभागको उपाध्यक्ष अनि अर्कोतर्फ तरुण दलको जिल्ला अध्यक्ष भएर दोहोरो जिम्मेवारीमा थिए उनी। यहीबाट उनी राजनीतिमा झनै पोख्त हुन थाले। तरुण दलको जिल्ला अध्यक्ष हुँदै तरुण दलको केन्द्रीय अध्यक्ष बने। शालिन व्यक्तित्व सबैसंग घुलमिल हुने बानी निरन्तरको राजनीतिक सक्रियताले उनलार्इ राजनीतिमा परिपक्व बनाउँदै लगेको थियो।

पार्टीभित्र उनी आशलाग्दा नेताका रुपमा आफूलार्इ परिचित गराउन सफल भए। पार्टीले पनि उनलार्इ विश्वास गर्ने स्थिति बन्यो। जसको परिणाम उनले २०६४ सालको संविधान सभा निर्वाचनको टिकेट पाए। भर्खर माओवादी सशस्त्र द्वन्दबाट शान्तिप्रक्रियामा आएको थियो। माओवादीको माहोल थियो जतात्यतै। त्यस्तो अवस्थामा उनी झिनो मतान्तरले पराजीत भए। तर उनको राजनीतिक निष्ठा, समर्पण, लगाव, सक्रियतामा कति पनि कमी आएन। उनी निरन्तर जनताका बीचमा रहे। पहिलो हारको बदलास्वरुप उनी २०७० सालको संविधान सभा निर्वाचनमा फराकिलो मतान्तरले विजयी भए। ललितपुर क्षेत्र नं १ का निवर्तमान सांसद उदय अहिले अर्थराज्यमन्त्री रहेका छन्।

उनी राजनीतिलार्इ समाजसेवा गर्ने माध्यम ठान्छन्। राजनीतिमा राम्रा र योग्य व्यक्ति आए देश विकास धेरै टाढाको विषय नरहेको बताउँछन्।

(Visited 1 times, 3 visits today)

१८ मंसिर २०७४, सोमबार ०६:३१ मा प्रकाशित