‘हरेक नेपालीले शेयर पाउनेगरी बुढीगण्डकी आयोजना बनाउनुपर्छ’

राजेन्द्र बजगाई ।
बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण समृद्ध नेपालको महत्वपूर्ण कदम हुनेमा कुनै शंका छैन । हालै राष्ट्रिय योजना आयोगले स्वदेशी लगानीमा सो आयोजना निर्माण गर्न सकिने प्रशस्त आधार रहेको प्रतिवेदन बुझाएको छ । नेपालमा लगानीका उचित अवसर उपलब्ध हुँदा पैसा जुट्न समस्या नहुने विगतका उदाहरणहरुले पनि पुष्टि गर्दै आएका छन् ।
१ हजार २ सय मेगावाट विद्युुत उत्पादन गर्न सक्ने बुढीगण्डकी आयोजनाले नेपालको विद्युत मागलाई मात्रै सम्बोधन गर्दैन, अन्तर्राष्ट्रि ऊर्जा व्यापारमा नेपालको सम्भवनालाई पनि उजागर गर्दछ । निर्माण सुरु नहुँदै विवादमा तानिएपनि अब यो आयोजना निर्माण नेपालको विकाससंग जोडिएको छ । विलम्ब नगरी आयोजना निर्माणको काम अघि बढ्नुपर्ने देखिन्छ ।
वर्तमान सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने निर्णय गरिसकेको छ । यो निर्णय आफैमा नेपाललाई स्वावलम्बी बनाउने निर्णय थियो । जहाँसम्म लगानीको कुरा छ, त्यसका लागि विभिन्न मोडल प्रस्तावित छन् । अहिले पेट्रोलियम पदार्थमा अतिरिक्त मूल्य लिएर पनि आयोजना बनाउने तयारी गरिएको छ । त्यसो हुँदा उपभोक्ताको लगानी आयोजनामा परेपनि अपनत्व हुँदैन । त्यसैले बुढीगण्डकीलाई हरेक नेपालीको आयोजना बनाउन लगानीसंगै अपनत्व महसुस गराउन सक्नुपर्छ ।
नेपालको सेयर बजारमा लगानीकर्ताहरुको चाप हेर्ने हो भने पुँजी निर्माण धेरै चुनौतीको विषय होइन । त्यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्छ । खासगरी तोकिएकै मितिमा आयोजना सम्पन्न हुने तथा आयोजना निर्माणमा सबैले लगानी गर्नसक्ने वातावरण बनाउनु सरकारको दायित्व हो । त्यसका लागि मध्यम आय भएका नेपालीले पनि लगानी गर्नसक्ने गरी न्यूनतम सिमा तोकेर जनतालाई लगानी गर्ने अवसर दिनुपर्छ ।
त्यसका लागि ‘सानो लगानी सुरक्षा योजना’ (Small Share Protection Plan) सरकारले ल्याउनुपर्छ । हरेक नागरिकले आफूसंग भएको रकममध्येबाट केही यस आयोजनामा सेयरको रुपमा लगानी गर्न पाउने प्रबन्ध गर्ने हो भने सबै क्षेत्रका जनता आकर्षित हुन्छन् । नागरिकले आफ़्नो प्रमाणपत्र धितो राखेर सहुलियत ऋण स्वरूप शेयर पाउनेछन जहाँ छेकम्पार र ठोरी तथा टिंक्कर र कुलबुलगुढी जोडिने छन र राष्ट्रीयता यसरी मात्र प्रकट हुनेछ। सक्नेले थिच्न नसक्नेगरि SSPP (Small Share Protection Plan) शेयर लिनेछन त्यसको हद उचित बनाउनेछन। तराई,मधेश, पहाल र हिमाल सबैतिरका जनताको लगानी र अपनत्व भएको बुढीगण्डकी आयोजना हाम्रो राष्ट्रियता र विकास चाहनाको प्रतीक बन्नेछ ।
यस्तो खालको व्यवस्था गर्न वर्तमान सरकारले नै पहल लिन जरुरी छ । विगतमा सत्तामा रहँदा काम नगरेको आरोप मेटाउन कांग्रेसलाई अवसर हुनसक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै हरेक नेपालीको लगानी बुढीगण्डकी आयोजनामा खुल्ला गर्न सक्नुभयो भने ‘जस’ भागीदार पनि उहाँ र नेपाली कांग्रेस नै हुनेछ । देशविकासका लागि एउटा महान महायज्ञ गरौं, बुढीगण्डकी आयोजना निर्माणमा जनताको लगानी सुरक्षित गरौं ।
जय नेपाल । जय विकास ।
४ पुष २०७४, मंगलवार १३:५९ मा प्रकाशित