‘कांग्रेस बिग्रेपछि कम्युनिष्टले फाइदा लिए’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:५६

अर्जुननरसिंह केसी । देश–विदेशमा रहेका नेपाली काँग्रेस र यसका समग्र समर्थक र शुभेच्छुकहरूमा चिन्ता र निराशा व्याप्त छ। सारा जगतबाटै चासो राखिएको यस्तो चुनौतीपूर्ण घडीमा हामी केन्द्रीय समितिको बैठकमा छौँ।

समर्थक र शुभेच्छुकहरूको यो चिन्ता यस बैठकमा आरोप–प्रत्यारोपको रुपमै खेर नजाओस्, चिन्तन र समाधानको रुपमा सम्पन्न होस् भन्ने आमचाहना छ।

२०५१ र २०६४ का निर्वाचनमा पनि हामीले हारेकै हो, आजको हारलाई पनि स्वीकार गर्दै यस्तो अवस्था पुनः नदोहोरियोस् भन्ने दृढता, कटिबद्धता र एकाग्रतापूर्ण कार्यशैली हामी सबैले अपनाउनु जरुरी छ ।

निराशा र नकारात्मक सोचले हरेक सम्भावना चुनौती बन्छ भने आशाबादी र सकारात्मक सोचले कठिन चुनौती पनि सम्भावनामा परिनित गर्न सकिन्छ ।

निर्वाचनको पराजयलाई नीति, नेतृत्व र संरचनागत परिवेशको कसीमा मूल्याङ्कन गरी केवल आफ्नै ढर्रामा चल्ने हठ भयो भने जतिसुकै ऐतिहासिक पार्टी भए पनि बेलायतको लिबरल पार्टी वा चीनको क्वोमिन्ताङ् पार्टीका नियति भोग्नु नपर्ला भन्न सकिन्न।

अतः यस वर्षका निर्वाचनमा पार्टीको असामान्य पराजयका कारक र दोषहरूको क्रुर समीक्षासहितका समाधानले मात्र यो बैठकको औचित्य सिद्ध गर्नेछ।

त्यसैले को चिढिएला वा को खुशी होला भन्ने मोलाहिजाको मानसिकता होइन, धरातलीय यथार्थमा टेकेर गरिएका सही समीक्षाले मात्र हामी सबैलाई अगाडिको सार्थक बाटो देखाउने छ।

निर्वाचन सकिएको ४ महिनापछिको यो पाँचौँ बैठकमा चुनाब परिणामको समीक्षा गर्न बल्ल केन्द्रित भइरहेका छौँ, जब कि यो काम परिणाम आएको लगत्तै गर्नुपर्थ्यो।

सम्पूर्ण चुनाव क्षेत्रको परिणामबारे स्थलगत प्रतिवेदन लिन टोली परिचालन गर्नुपर्थ्यो, तर निरन्तर सतर्कताको सट्टा जिल्लाबाट प्राप्त प्रतिवेदनहरूको छानविनको प्रतिवेदनसमेत आएन।

केन्द्रीय पदाधिकारीको विश्लेषण, समीक्षा र निष्कर्ष के हो, समाधान के हुनसक्छ, त्यतातिर आजसम्म चाईँचुईं केही छैन।

नीतिगत कमजोरी

पार्टीका आधारभूत सिद्धान्त– राष्ट्रियता, लोकतन्त्र र समाजवादको निष्ठापूर्ण परिपालनमा कमजोरीबाट परम्परागत र साविकका मतदातामा विचलन हुनु र नयाँ मतदातालाई आकर्षण र विश्वास सिर्जना गर्न सकिएन ।

संवैधानिक प्रावधान र संघीय संरचनाअनुरुप पार्टी सङ्गठन निर्माण हुन नसक्नु र ब्यापक प्रचारपसार र प्रशिक्षणद्वारा कार्यकर्ता पंक्ति परिचालन गरी तदनुरुप मानसिकताको निर्माण नहुनु।

 इच्छाशक्तिविहिन नेतृत्व

पार्टीका सम्पूर्ण निकाय र तह लथालिङ्ग र भताभुङ्ग अवस्थामा छन्। पार्टीका निष्ठावान र इमानदार कार्यकर्ताहरू हतोत्साहित छन्।

‘गाई मारेर गधा पोस्ने’ भन्ने उखान चरितार्थ भएको देखिन थाल्यो भने कार्यकर्ताहरूको उत्साह र जनविश्वास पनि मरेर जान्छ भन्ने हेक्का राखौँ।

झन् खतरनाक पक्ष त यसलाई सच्याउने र सही बाटोमा फर्काउने इच्छाशक्ति पनि नेतृत्वमा देखापर्न सकेन। पार्टी हचुवा र हैकमी कार्यशैलीले सञ्चालित छ।

पार्टीभन्दा ‘पार्ट’ठूलो, ‘पार्ट’भन्दा गिरोह ठूलो मान्ने प्रवृत्तिले पार्टी कदापि सुदृढ र सशक्त हुँदैन।

उम्मेद्वारको स्थिति

टिकट पाएको दिनदेखि नै निर्वाचनको जिम्मेवारीका लागि प्रत्येक उम्मेद्वार एक्लो भयो। उम्मेद्वारप्रति पार्टीको कुनै जिम्मेवारी नै नभएजस्तो देखियो।

पार्टी संगठन परिचालित भएर गर्नुपर्ने सम्पूर्ण काम एक्लो उम्मेद्वारमा निर्भर रह्यो। असंगठित बहुमतलाई संगठित अल्पमतले पराजित गर्छ भन्ने राजनीतिक यथार्थ यस निर्वाचनले चरितार्थ गरेको छ।

नीति, नेतृत्व र संरचनाको समन्वय नभएको असंगठित तथा हचुवा शैली र नेतृत्वको स्वेच्छाचारी गतिविधि निर्वाचनमा हारका मूख्य दोषी हुन्। नीतिभन्दा नेता, संस्थाभन्दा गुट र गुटभन्दा बढी गिरोह निर्णायक रह्यो।

मतदातामा विचलन

आजको युग कम्युनिस्टको युग होइन, लोकतन्त्रको युग हो । तर युगले जसको औचित्य र सान्दर्भिकता छैन भन्दैछ उसैको जीत भयो, लोकतन्त्रवादीको औचित्य र सान्दर्भिकता हुँदाहुँदै पनि लोकतन्त्रको संवाहक काँग्रेस हार्नपुग्यो।

कम्युनिस्ट गठबन्धनको जीत उनीहरूको आफ्नै खुबीलेमात्र होइन। हाम्रै गलत कार्यशैलीका कारणबाट भएको हो।

विपक्षी मूख्य प्रतिष्पर्धी पार्टीप्रति आक्रामक वैचारिक रणनीति तय गर्न नसक्नु र प्रतिरक्षात्मक अवस्थामा पुर्याउन नसक्नुको दुष्परिणाम आजको परिस्थिति हो।

तसर्थ वामपन्थी गठबन्धनमात्र हाम्रो पराजयको कारण होइन, किन कि स्थानीय निर्वाचनमा कुनै गठबन्धन थिएन, त्यसैले यो अतिरिक्त कारण हो।

तर प्रधान कारण आन्तरिक घात–प्रतिघात, असहयोग, पार्टी परिचालनमा देखाइएको उदासिनता, गुट–उपगुट जस्ता दोषहरू मूख्य हुन्।

समानुपातिक निर्वाचनमा जनताले काँग्रेसलाई इतिहास हेरेर मत दिए, प्रत्यक्ष निर्वाचनमा वर्तमान नीति र नेतृत्वलाई हेरेर हराए। काँग्रेसले आवधिक निर्वाचन हारेको हो, संस्था, इतिहास, राजनीति र यसको छवि हारेको छैन।

जनताले इतिहास हेरेर दिएको भोट र वर्तमान हेरेर दिएको भोटमा जुन भिन्नता छ, त्यसको अर्थ पार्टीले विद्यमान ढर्रा सच्याउनु पर्छ भन्ने हो। तर यो हारबाट शिक्षा लिन सकिएन भने काँग्रेस धेरै पछाडि पर्नसक्छ।

प्रचार र जनसंचारमा कमजोरी

नेपाली काँग्रेसले गरेका– युद्धको अन्त्य र शान्ति स्थापना, संविधान निर्माणमा नेतृत्व, सरकारको खर्च गर्ने क्षमता र राजश्वको आकारमा बृद्धि, निजी क्षेत्रको सशक्तीकरण, जनस्वास्थ्य तथा उपचार सुविधा र सामाजिक सुरक्षामा विस्तार, यातायात, सञ्चार, आमसञ्चार, शिक्षाजस्ता यावत पक्षमा गरिएको क्रान्तिकारी उपलब्धीलाई हामीले जनस्तरमा पु¥याउन नसक्नु, यसलाई पूँजीकृत गर्न असमर्थ हुनु पार्टीको संयन्त्र भताभुङ्ग भएको कार्यको परिणाम हो।

जनता वा कार्यकर्ता होइन, हामी नै यसमा दोषी छौँ।

अपारदर्शिताको पराकाष्ठा

पार्टी र सरकार सञ्चालनमा भए गरिएका गम्भीर गल्तीको एकमुष्ट परिणाम निर्वाचनमा देखापर्यो। पार्टी सञ्चालनमा अपारदर्शीता तथा व्यक्तिवादी कार्यशैलीको नतिजा निर्वाचनमा प्रकट भयो।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचनको बन्द सूचीबारे पार्टीमा छलफल त के, हेर्नसम्म नदिएर सीमित व्यक्तिहरूको निहित स्वार्थमा आयोगमा बुझाइयो।

अपवादबाहेक दोहोर्याएर कसैलाई पनि समानुपातिक निर्वाचनको सूचीमा नराख्ने केन्द्रीय समितिको निर्णयमा आफैँ टिक्न सकेन।

७७ जिल्लामध्ये ३९ जिल्लाबाट मात्र संसदमा काँग्रेसको प्रतिनिधित्व भएको असन्तुलित अवस्था नेतृत्वकै असन्तुलित मनोवृत्तिको हो।

स्थानीय निर्वाचनमा मनपरी मापदण्ड

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनौट गर्दा ६७ जिल्लाका पार्टी–सभापति र कार्यसमितिहरूलाई पूरै उपेक्षा गर्दै क्षेत्रीय समितिको सिफारिशमा टिकट दिने भनियो, तर सिफारिशको रेकर्ड समेत हेर्न पाइएन।

अर्कोतिर २ नं. प्रदेशका ८ जिल्लामा अर्कै मापदण्ड अपनाएर केन्द्रमा छलफलसमेत नगरी जिल्ला सभापतिहरूलाई नै उम्मेद्वारी सिफारिशको जिम्मेवारी सुम्पिइयो।

सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापतिलाई टिकट दिन सर्वसम्मत सिफारिश भएकोमा उहाँलाई जानाजानी अन्याय गर्दै टिकटबाट बञ्चित त गरियो नै, पार्टी विधानलाई लत्याउँदै क्षेत्रीय सभापतिबाट निकालियो।

यो अपवाद होइन, धेरैवटा यस्ता घटनाहरूको प्रतिनिधिमात्र हो । मनोनयन दर्ता गर्ने दिन ४ बजेसम्म पनि आसेपासे गिरोहको सिफारिशमा उम्मेद्वारको नाम फेरियो।

केन्द्रदेखि स्थानीय तहसम्म नै टिकट वितरणमा आर्थिक चलखेलका चर्चा अब ‘खुलेआम गोप्य’जस्तै हल्ला आइरहेको छ।

गाउँ, नगर र निर्वाचन क्षेत्र विभाजन गर्दा जनताको सुविधा, सेवा र भौगोलिक पायकलाई ध्यान दिएरभन्दा व्यक्ति विशेषलाई अप्ठ्यारोमा पार्नकै लागि नियोजित षड्यन्त्र भएको छ।

यसबाट उत्पन्न चरम अन्याय र असुविधाको सरकार वा पार्टी कतै सुनवाई भएन ।

जिम्मेवारीको प्रश्न

‘सफलताका सहस्र जनकहरू हुन्छन्, तर असफलता सँधै टुहुरो हुन्छ’भनिएजस्तो पार्टीलाई आइलागेको यो अभूतपूर्व असफलतामा निहित दोष कसलाई भिराइदिने भन्ने होडबाजीमा म छैन।

यसका निम्ति मूख्य रुपमा सभापतिजी, महामन्त्रीजी, पदाधिकारी साथीहरू, बरिष्ठ नेता र कार्यसम्पादन समितिमा बसेका हामीहरू लगायतले जिम्मेवारीअनुरुपको मात्रात्मक दोष स्वीकार गर्ने कि नगर्ने? पार्टी संगठनको मूल्यमा व्यक्ति–व्यक्तिका झुण्ड र गिरोह बलियो बनाउनतिर लाग्ने कि पार्टीलाई सबलीकरण गर्नेतिर लाग्ने?यदि पार्टीलाई सबलीकरण गर्ने हो भने तहअनुसारको नेतृत्वले जिम्मेवारी लिनैपर्छ।

यस क्रममा भएका म संलग्न जेजति दोष वा गल्ती छन्, स्वीकार्न तथा आवश्यकता परेमा आत्मालोचना गर्न तयार छु। पटकपटक उठिहरहेका विषय र सन्दर्भमा मैले आफ्ना अन्तरात्माका आवाज, विवेकले देखेका स्पष्ट कुराहरू राख्दैआएको हूँ, तर मुखैमा आएको आमनिर्वाचनको कारणले त्योभन्दा बढी कदम चलाउन सकिन।

त्यो मेरो कमजोरी थियो । फेरि पनि गुट–उपगुट र आग्रह वा पूर्वाग्रहमै सीमित भयौँ भने पार्टीको यो अवस्थाबाट मुक्त भएर नयाँ वैचारिक पुनर्जागरण गर्दै नयाँ सोच र प्रतिबद्धताका साथ अघि बढ्न र आजका चुनौतीसँग सामना गर्न हामी सक्षम हुनेछैनौँ।

गल्ती र कमजोरीको औचित्य

पार्टी सञ्चालनका सिलसिलामा लिइएका कतिपय गलत निर्णय पहिलेका गलत निर्णयहरूलाई नजिर वा परम्परा मानेर गल्ती वा कमजोरीलाई निरन्तरता दिने वा त्यसबाट आफ्ना कार्यहरूलाई औचित्य दिन खोज्ने प्रवृत्ति बेलाबेलामा देखिन्छ।

अमुक व्यक्तिले कानून तोड्यो, म पनि तोड्छु भन्ने छुट हुँदैन । प्रजातन्त्र भनेकै विधिको शासन हो भन्ने कुरा हामीले भुल्नु हुँदैन।

११. सत्ताको दुरुपयोग

पार्टी सभापतिले प्रधानमन्त्रीको हैसियतले सरकार सञ्चालनका क्रममा भएगरिएका गतिविधिहरूको मूल्य काँग्रेसले चुकाउनु पर्यो।

प्रधानन्यायाधीशमाथि संसदमा ल्याइएको महाअभियोग प्रस्ताब, राजदूत नियुक्तिमा देखिएको अपवाद, आईजीपी नियुक्तिको खेल, ६४ जनाको आजसम्मकै विशाल मन्त्रिमण्डल गठनजस्ता गतिविधिले सरकारको नेतृत्व बदनाम भयो।

हामी सबैलाई थाहा छ, यस्तो गतिविधिले पनि पार्टीलाई आजको अवस्थामा पुर्याएको।

प्रधानन्यायाधीशका बिरूद्धको महाअभियोग प्रस्ताबका हस्ताक्षरकर्तालाई नै थाहा नहुनुभन्दा लज्जास्पद कुरा के हुनसक्छ ?

सभापतिजीको स्मरणका लागि

पार्टीको तेहौं महाधिवेशनमा उम्मेद्वारी दिँदा सभापति शेर बहादुरजीले वितरण गर्नुभएको ‘मेरो प्रतिबद्धता’ नामक पुस्तिकामा उल्लेख छ, “….म नेपाली काँग्रेसलाई सुदृढ र गतिशील पार्टी बनाउने छु।

पार्टी र यससँग आबद्ध संगठनहरूलाई विधानसम्मत ढङ्गले चलाउने परिपाटीलाई संस्थागत गर्ने मेरो प्रयास हुनेछ । पार्टीका साथीहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै एकताबद्ध पार्टी बनाउन प्रतिबद्ध छु।”

यो प्रतिबद्धता के भयो, सभापतिज्यूले शहीदहरूलाई सम्झेर आफैँ आत्मसमीक्षा गर्नुहोस्।

संवेदनहिनता

यो वर्षका तीनै तहका निर्वाचनबारे स्वदेशी र विदेशी पर्यवेक्षकहरूका आ–आफ्नै प्रतिवेदनहरू आइरहेका छन्। यसमध्ये कतिपय सकारात्मक छन् भने कतिपय पूर्वाग्रही र आपत्तीजनक कुरा पनि छन्।

हालै युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनको निर्वाचन परिणामबारे प्रतिवेदन आयो, जसमा सामाजिक सद्भाव र एकतामा असर पर्ने कतिपय अतिशयोक्ति र विवादास्पद कुरा पनि छन्।

यस्ता संवेदनशील कुराहरूमा पार्टीको आधिकारिक धारणा यथाशिघ्र स्पष्ट पार्नुपर्छ।

तर हाम्रो मौनताले उदारता होइन कमजोरी देखाइरहेको छ।

अबको बाटो

पार्टी संगठनका सबै तह विभाजित र नेतृत्व फितलो छ भने जुनसुकै अवसर पनि समस्याको रुपमा देखापर्छ।

पार्टी संगठन बलियो र नेतृत्व जनउत्तरदायी छ भने हरेक चुनौतीमा अवसर फेला पार्न सकिन्छ। तसर्थ जिम्मेवारी अनुसारको गल्ती स्वीकार गर्दै आत्मसमीक्षाका साथ नैतिक दायित्व बहन गरौँ, र यस्तो गल्ती आइन्दा नदोहोर्याउने प्रण गरौँ।

पार्टीमा परिवर्तन ल्याउन सभापतिजीदेखि नै हामी सबै तहको नेतृत्वले सर्वप्रथम आफ्नै हृदय र कार्यशैलीमा परिवर्तनप्रति इमानदार बनौँ।

२०७० सालको संविधानसभा निर्वाचनको मतदाता संख्या १ करोड २१ लाख ४७ हजार थियो।

४ वर्षभित्र यस सालको निर्वाचनमा ३३ लाख नयाँ मतदाता थपिएर १ करोड ५४ लाख मतदाता भए। अबको ५ वर्षमा यही अनुपातमा ३०÷३५ लाख मतदाताहरू थपिनसक्छ।

यी नयाँ मतदाता कम्प्युटर तथा इन्टरनेट सम्पर्क भएको नयाँपिँढी हुने छ। युवा नेतृत्वको प्रोत्साहन तथा विकास र नयाँ मतदातालाई पार्टीतिर आकर्षित गर्ने ठोस कार्यक्रम र रणनीति तय हुनु जरुरी छ।

यस्तो रणनीति र कार्यक्रम तर्जुमा नगर्ने हो भने काँग्रेसको सुन्दर इतिहास पढेर मात्र नयाँ पुस्ता पार्टीमा आउला भन्न सकिन्न।

बिधि, प्रकिया, मूल्यांकन पद्धति र प्रबृत्ति, पारदर्शिता, अनुशासन संस्थागत हुनुका साथै पार्टी शुद्धीकरण र अभियान सुदृढीकरण कडाइका साथ सञ्चालन गरिनुपर्छ।

पार्टी विधान, पालनाको अर्थमा अत्यन्त बिजोग अवस्थामा छ।

सभापतिजी वा कसैलाई पनि पार्टीको विधान इच्छा लागे मानिटोपल्ने इच्छा नलागे लत्याउने छुट छैन। समग्र पार्टीको आवश्यकता र कार्यकर्ताको भावनाअनुरुप सहज वैधानिक प्रक्रिया अपनाएर पार्टीको विधान संशोधन गर्न सकिन्छ।

तर कसैका रुचि वा अरुचिका आधारमा विधान मिच्न पाईँदैन । विधिको शासन र प्रजातन्त्रको मर्म र भावना पनि यही हो। पार्टी नेतृत्वले त विधानको अक्षर र भावनाअनुरुप निष्ठापूर्वक पालनाका साथै पार्टीमा संरचनागत सुधारमा केन्द्रित रहनुपर्छ।

क्रियाशील सदस्यता वितरणमा विद्यमान अस्तब्यस्तता र अव्यवस्थाको कठोरताका साथ अन्त्य गर्दै व्यवस्थित, वैज्ञानिक र पार्टीका स्थापित सिद्धान्त र नीतिअनुरुप बनाउनु आवश्यक छ।

अब पार्टीको संगठनात्मक संरचनालाई जनसमुदायमा आधारितका साथै कार्यकर्तामा आधारित पनि बनाउनुपर्ने जरुरी देख्छु।

पार्टीको मूल संगठन, यसका सबै इकाई, भातृसंस्था र शुभेच्छुक संस्थाहरूलाई सुदृढ र जिवन्त बनाउन विधान अन्तर्गत पूर्ण स्वतन्त्रताका साथै सम्पूर्ण पदाधिकारी र सदस्यहरूको प्रत्यक्ष निर्वाचन अधिवेशनबाट गरिनु पर्छ र सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीका आधारमा संगठन परिचालन गनुपर्छ भन्ने मेरो धारणा छ।

यो अवस्था पार्टीमा थप पदाधिकारी मनोनित गर्ने कुरा पनि आएको छ । यो सर्वथा अस्विकार्य छ ।

पार्टीको महाधिवेशन सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि पदाधिकारी र केन्द्रीय कार्यसमितिले पूर्णता नपाउनु, यसबारे स्मशान शान्ति छाउनु गम्भीर रहस्यको द्योतक हो।

कुन कठोर बाध्यताले गर्दा सभापतिजी यसरी अनिर्णयको बन्दी हुनुभएको हो ? पदाधिकारी तथा विभागहरूको गठन र तिनीहरूको गतिशीलता निर्वाचनको क्रममा यसको जुन महत्व र आवश्यकता थियो, अब त्यसको औचित्य समाप्त भएको छ ।

विधानतः पार्टी महासमिति बैठक हरेक वर्ष बस्नुपर्ने तर महाधिवेशन भएको २ वर्ष बितिसक्दा पनि यतातिर नेतृत्वको ध्यान नगएकोले काँग्रस महासमितिको बैठक यथाशिघ्र बोलाउनु आवश्यक छ।

केन्द्रिय समितिबाट महासमितिको बैठकमा प्रस्तुत गरिने दस्तावेज सबै पक्षबाट सहमतिका आधारमा तयार गरिनुपर्छ । अन्यथा बहुमत र अल्पमतको बेग्लाबेग्लै दस्तावेज प्रस्तुत हुनसक्ने प्रबन्ध हुनुपर्छ।

महासमितिबाट विधान संशोधनपछि यसको कार्यान्वयनका लागि सबै संरचनागत अधिवेशन गर्दै पार्टीको १४ औँ महाधिवेशन अग्रिम रुपमा गर्नुपर्ने वर्तमान परिस्थितिको अनिवार्य आवश्यकता हो।

हाम्रा शुभेच्छुक वा हितैषीहरू पार्टीले मध्यमार्गी लाईनबाट दक्षिणपन्थी धारतिर बढी झुकाव राख्नथालेको भनी औँला ठड्याइरहेका छन्।

गतिशील राष्ट्रवादी कार्यक्रमसहितमा आधारित गतिशील समाजबादी आर्थिक, सामाजिक र राजनीतिक नीति  अख्तियार गर्नु जरुरी छ।

२०४७ पछि काँग्रेस नेतृत्वको सरकारका पालामा मुलुकले आर्थिक विकासका विविध पक्षमा गहकिलो उपलब्धी हासिल गरेको हो।

तर सामाजिक न्याय र सुरक्षाको क्षेत्रमा हामीमाथि गम्भीर प्रश्न उठाउने गरिन्छ। यसलाई सम्वोधन गर्नु आवश्यक छ।

सम्पूर्ण शक्ति केन्द्रित गर्ने्तिर वर्तमान प्रधानमन्त्री जसरी लाग्नुभएको छ, यसबाट शक्तिसन्तुलन र नियन्त्रणका संबैधानिक संस्थाहरू कुण्ठित र नियन्त्रित गर्न उन्मुख देखिन्छ।

स्वतन्त्र न्यायपालिका, संवैधानिक तथा सुरक्षा अङ्गहरू र निजामति सेवालाई राजनीतिक हस्तक्षेपमुक्त नबनाई लोकतन्त्र सुरक्षित र भ्रष्टाचारमुक्त समाज निर्माण हुन सक्दैन। यतातिर हाम्रो निरन्तर ध्यान जरुरी छ।

अबको ५ वर्ष सत्ताको आसा र लिप्सा बोकेर तानाबाना बुन्नतिर हैन सशक्त प्रतिपक्षमा बस्नुपर्छ। राजनीतिक दललाई सत्तामा बस्दा सहिष्णुता र प्रतिपक्षमा बस्दा साहस जरुरी हुन्छ।

यसै आधारमा संसददेखि गाउँ र नगरपालिका र प्रदेशस्तरसम्म प्रभावकारी र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दा प्राप्त हुने सफलताले जनता हामीतिर फर्किन्छन् र हामी ५ वर्षमा पार्टीलाई पूर्वस्थितिमा पुर्याउन सक्षम हुनेछौँ।

यसको लागि पार्टीभित्र संस्थागत, विधिसंगत, पारदर्शी, अनुशासित एकतापूर्ण नीतिगत प्रतिबद्धताका साथै वैचारिक अभियानमा समर्पित हुनुपर्ने आवश्यकता छ।

जय नेपाल।

 

-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी केन्द्रीय समिति बैठकमा पेश गर्नुभएको लिखित प्रस्ताव ।

(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:५६ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts