यसकारण ब्राजिल पहिलेभन्दा धेरै बलियो !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार ०५:१०

अर्जेन्टिनाले नेदरल्याण्डलाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइलनमा पुग्दै थियो । तर, त्यतिबेला सबैजना एक दिनअघि सेमिफाइनलमा ब्राजिलले बेहोरेको लज्जासपद हारको धक्काबाट पार पाउन संघर्षरत थिए ।

आयोजक ब्राजिल जमर्नीसँग ७–१ को विशाल अन्तरले पराजित भएको थियो । अनि सबैको प्रश्न थियो, अब के हुन्छ ?

‘यो नतिजापछि के ब्राजिलले आफूले मान्दै आएको व्यवस्थालाई जरा–हाँगादेखि परिवर्तन गर्ला ?,’ मार्क च्यापमानले सोध्छन् ।

‘मलाई आशा छ,’ मैले जवाफ दिएँ । तर, मलाई डर थियो, १० दिनको शोकपछि फेरि पूरानै कुरामा ब्राजिलको फुटबल अल्झिने त छैन ।
र, भयो ठ्याक्कै त्यस्तै ।

डुङ्गासँग फेरि गन्तव्यविहीन यात्रा 

विश्वकप लगत्तै ब्राजिलले पूर्व मिडफिल्डर डुङ्गालाई प्रशिक्षकको रुपमा नियुक्त गर्ने आश्चर्यजनक निर्णय लियो ।

उनले यसअघि सन् २००७–२०१० सम्म ब्राजिलको नेतृत्व सम्हालेका थिए । यसबाहेक उनको प्रशिक्षकको रुपमा अनुभव भनेको ब्राजिलियन क्लब इन्टरनेसिनोलसँगको असफल केही महिना मात्र थियो ।

उनी ब्राजिलको फुटबलमा जरा–हाँगादेखि परिवर्तन गर्नका लागि सही व्यक्ति थिएनन् । उनको नियुक्ति भनेको नेतृत्वको ‘वास्तविकतालाई अस्वीकार’ गर्ने मानसिकता बाहेक केही थिएन । तर, उनीहरुलाई आलोचना हुन्छ भन्ने चाहीँ बोध थियो ।

त्यही भएर ब्राजिलियन फुटबल एसोसिएसनले सोच्यो, यदी हाम्रो आलोचना भयो भने, ‘डुङ्गा इज आवर म्यान ।’ सारा विश्वले आफूसँग षड्यन्त्र गरिरहेको ठान्ने डुङ्गाले पनि ‘इँटको जवाफ पत्थर’ ले दिए ।

तर, दुई वर्षपछि सन् २०१८ को विश्वकप छनौटको एक तिहाई खेल सकिँदासम्म ब्राजिल दक्षिण अमेरिकी तालिकामा छनौट स्थानभन्दा बाहिर छैटौँ स्थानमा सिमित रहेको थियो । ब्राजिलमा अहिलेसम्म हरेक विश्वकपमा छनौट हुने एक मात्र टोलीको गर्विलो किर्तिमान गुमाउने चिन्ता देखिन थालेको थियो ।

डुङ्गा दबाबमा थिए । उनको आशा भनेको रियो ओलम्पिक थियो । यदी टोलीलाई फुटबलमा पहिलो ओलम्पिक मेडल दिलाउन सके, आफ्नो पद जोगाउन थप समय प्राप्त गर्ने उनको सोच थियो ।

यो हुन पनि सक्थ्यो होला । तर, ओलम्पिकभन्दा ठीक अघि कोपा अमेरिकाको शत वार्षिकीको अवसरमा अमेरिकामा विशेष प्रतियोगिता आयोजना भयो ।

डुङ्गाको टोली इक्वेडरसँग बराबरी खेल्यो र पेरुसँग हार्दै प्रतियोगिताको समूह चरणबाट बाहिरियो । त्यसको शिकार भए डुङ्गा । ढिलै भए पनि उनको स्थानमा सन् २०१४ मा प्रशिक्षकको खोजी हुँदा लोकप्रिय उम्मेदवार मानिएका कोरिन्थियान्सका प्रशिक्षक टिटेलाई बागडोर सम्हालन दिइयो ।

त्यसपछि सबै कुरा इतिहास भइसकेको छ ।

टोलीमा केही परिवर्तन गरियो । चीनमा खेलिरहेका पाउलिन्होलाई टोलीमा ल्याइयो । यो निकै विवादास्पद कदम थियो तर, यसले जबर्जस्त सफलता दिलायो । त्यस्तै, युवा खेलाडी ग्याब्रियल जिससलाई सेन्टर फरवार्डको भूमिकामा खेलाउने उनको निर्णयले तत्कालै नतिजा दियो ।

दुई जनाबाहेक टोलीका अन्य सदस्य डुङ्गाकै पालाका थिए । तैपनि टोलीले टिटेको नेतृत्वमा नितान्त फरक परिणाम दिइरहेको थियो ।

निकै अप्ठ्यारो मानिएको छनौट चरण एउटा हल्का हावाको रुपमा परिणत भयो । यसमा ब्राजिलले १० खेलमा जित्यो भने दुईवटामा बराबरी गर्यो । यस क्रममा ३० गोल गर्यो भने मात्र तीन वटा गोल खायो । र, अहिले उनीहरुले त्यो फर्मलाई आफ्नो युरोपियन प्रतिद्वन्द्वीविरुद्ध पनि जारी राखेका छन् । ब्राजिल रसियामा एक प्रबल दाबेदारको रुपमा जाँदैछ ।

यसमा एउटा स्वभाविक प्रश्न आउँछ – एउटा मान्छेले कसरी यत्रो ठूलो फरक पार्न सक्छ ?

सफलता अनि असफलताको यात्रा

यस उत्तरका दुईवटा पाटाहरु छन् । यसमा टिटेको नकार्न नसिकने गुणमात्र छैन ।

जुन स्थितिमा ब्राजिलको फुटबल थियो, त्यहाँ सफलता र विफलता दुवैको खतरा थियो ।

ब्राजिलको फुटबल आफैमा महान थिएन । जुन उचाईं यसले हासिल गर्यो त्यो एउटा प्रक्रियाबाट आएको हो । सन् १९५८ देखि १९७० मा चार मध्ये तीन विश्वकप जित्दा ब्राजिल तयारी र रणनीतिको मामिलामा अरुभन्दा निकै अघि थियो ।

सन् १९५८ मा पनि उनीहरुसँग ठूलो संख्यामा ब्याकअप डाक्टर, डेन्टिस्ट र शारीरिक तयारीको विशेषज्ञ थियो । त्यतिबेला खेल मनोविज्ञको शुरुवाती प्रयोग पनि ब्राजिलले नै गरेको थियो ।

महान् मारियो जागालो, सन् १९५८ देखि १९६२ सम्म खेलाडी र सन् १९७० को प्रशिक्षक, लाई सन् १९६२ मा इंग्ल्याण्डको टोली त्यति धेरै डाक्टर बिना नै चिली गएको थियो भन्दा झण्डै आफ्नो कुर्सीबाट लडेका थिए ।

वास्तवमा रणनीतिमा उनीहरुले उरुग्वेवन, अर्जेन्टिनी र हंगरियन प्रशिक्षकहरुको विचारलाई समिश्रण गरेर नयाँ रणनीति तयार गरेका थिए । ‘ब्याक फोर’ को रणनीतिको शुरुवातकर्ता उनीहरु नै थिए ।

जब उनीहरुले सन् १९५८ को विश्वकपमा यो रणनीति लागू गरे उनीहरुले सेमिफाइनलसम्म कुनै गोल नै खाएनन् । यो नै ब्राजिलले अन्तिम पटक युरोपमा विश्वकप जितेको अवसर थियो । सन् १९७० मा उनीहरु थप कदम अगाडि गए । अहिले निकै चर्चित रहेको ४–२–३–१ फर्म्याटको शुरुवातकर्ता थिए जागालो ।

तर, यति धेरै सफलता हासिल गरेपछि उनीहरु अल्छी हुनथाले । र, रणनीतिभन्दा व्यक्तिगत प्रतिभाको ‘भ्रम’मा बढी विश्वास गर्न थाले ।

जब खेल अघि बढ्यो, उनीहरु एक्लिए । युरोपियन फुटबलका शीर्ष क्लबमा बिरलै ब्राजिलियन प्रशिक्षक देखिए र जो आए निकै कम समय टिके ।

पेप ग्वार्डिओलाले एक दशक अघि ल्याएको क्रान्तिबाट ब्राजिल झन् ‘अफ ब्यालेन्स’ भयो ।

ब्राजिलियन फुटबलमा धेरैको विश्वास थियो, खेलमा ‘फिजिकल एभोल्युसन’ ले ‘पोजेसनमा आधारित’ खेललाई असम्भव बनाएको छ । र, अबको बाटो भनेको एकतृत भएर दुई फ्ल्याङ्कबाट छिटो काउन्टर अट्याक गर्ने हो ।

तर, यो निकै पूरानो भइसकेको थियो । जसको तितो सत्यताबोध ग्वार्डिओलाको केही विचारलाई आत्मसाथ गरेको जर्मनीले ७–१ ले हराउने क्रममा गराइदियो ।

युरोपबाट सिक्दै टिटे

‘सिक अनि, अघि बढ’ मा ब्राजिलको असफलतामा अपवाद हुन् टिटे ।

सर–सर उनको बायोडाटा हेर्दा त्यसमा केही विशेष देखिँदैन । उनले एक काम छाड्दै  अर्को काममा गएको देखिन्छ, जसमध्ये धेरैबाट उनी बर्खास्त भएका छन् । उनले कहिले पनि युरोपमा काम गरेका थिएनन् । जसमा उनको तर्क थियो, दोस्रो भाषा प्रयोग गरेर सफल हुन सकिँदैन ।

तर, आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने अद्भुत कलाबाहेक उनीसँग निकै जिज्ञासु दिमाग भने थियो । ब्राजिलको विश्वकप छनौट अभियानको क्रममा उनले भनेका थिए, ‘मैले कसरी सिक्ने भन्ने कुरा सिकेँ ।’
प्रशिक्षकको रुपमा शुरुवात गर्दा टिटे ३–५–२ स्पेसियालिस्टको रुपमा चिनिन्थे ।

पछि, इन्टरनेसिनोलमा उनले पोर्टस्माउथमा केही समय बिताएका अर्जेन्टिनी मिडफिल्डर आन्द्रेस डी’अलेसान्ड्रोसँग काम गर्ने अवसर पाए जहाँ आन्द्रेसले उनलाई युरोपको ४–४–२ व्यवस्थाको बारेमा जानकारी दिए । त्यसपछि टिटेले लामो समय ठूला क्लबहरुले खेल्ने तरिका अध्ययन गर्न युरोपमा बिताए ।

मैदानमा एक ढिक्का रहने कुरामा दक्षिण अमेरिकी टोलीहरु र युरोपेली टोलीबीच सबैभन्दा ठूलो भिन्नता रहेको थियो । उनले युरोपका क्लबबाट आफूले सिकेको कुरा कोरिन्थियन्समा लागू गरे जसको मद्दतले सन् २०११–१२ मा ब्राजिलियन र दक्षिण अमेरिकी उपाधि जिते भने क्लब विश्वकपको फाइनलमा चेल्सीलाई पराजित गर्न सफल रहे ।

त्यतिबेला टोली एक गोलको अन्तरले खेल जित्नमा माहिर मानिन्थ्यो । एक ढिक्का भएर खेल्ने टोलीको तरिकाका कारण विपक्षीहरुलाई उनीहरुबिरुद्ध गोल गर्न गाह्रो हुन्थ्यो । टोली रक्षात्मक प्रणालीमा आधारित थियो ।

त्यसपछि उनले युरोपियन फुटबलबारे थप अध्ययन थाले । त्यहाँ उनले शीर्ष टोलीले मैदानको केही हिस्सामा दबदबा राखेर विपक्षीलाई दुःख दिने गरेको सिके ।

उनले यो कुरा कोरिन्थियन्समा लागू गर्दा टोलीले सन् २०१५ को ब्राजिलियन उपाधि जिते । यो टोली एक ढिक्का भएर खेल्थ्यो र आक्रमण गर्ने बेला खुला भएर खेल्न सक्थ्यो ।
हो, यही रणनीति उनले ब्राजिलियन राष्ट्रिय टोलीमा लागू गरेका छन् ।

नोभेम्बर २०१६ मा जब ब्राजिलले अर्जेन्टिनालाई ३–० ले पराजित गर्यो, अर्जेन्टिनाका प्रशिक्षक सेजार लुइस मेनोटीले यस रणनीतिको खुलेर प्रशंसा गरे ।

‘उनले डिफेन्सिभ लाइनलाई २० मिटरमाथि ल्याएर सबै टोलीलाई एक ढिक्का बनाए,’ उनले भनेका थिए, ‘मलाई यो टोली सन् १९७० को ब्राजिलको टोली जस्तो लाग्यो ।’

के टिटेले नेयमारबाट उत्कृष्ट खेल खेलाउन सक्लान् ?

टिटे यतिबेला सबै टिभी विज्ञापनमा छन् ।

डुङ्गा एक योद्धाजस्तो प्रस्तुत हुन्थे भने टिटे एक बुद्धिमान व्यक्तिको रुपमा प्रस्तुत हुन्छन् । आँखामा हेरेर कुरा गर्न सक्ने टिटेको शैलीको तारिफ गर्दै एक आलोचकले उनलाई ‘सपेरा (सर्पलाई नचाउन सक्ने व्यक्ति)’ को उपमा दिएका थिए ।

अहिलेसम्म ब्राजिल मन्त्रमुग्ध छ । टोलीले सफलता हासिल गरिरहँदा विश्वकप छनौटका दौरान टिभी रेटिङ निकै राम्रो थियो ।

देश राजनीतिक र आर्थिक भद्रगोलमा फस्दा राष्ट्रिय फुटबल टोली एक्लो आशाको किरणको रुपमा रहेका छन् ।

यदी विश्वकपअघि राष्ट्रपतिको निर्वाचन हुने भने टिटेले भारी अन्तरले निर्वाचन जित्ने स्थिति छ । यस्तो संवदेशनशील कुरामा उनी जिस्केर कुरा गर्न सक्छन् ।

यसको साथै टिटेसँग नेयमार जस्तो स्टार स्ट्राकर रहेको छ । र, ब्राजिलको सफलता दुईबीचको सम्बन्धमा आधारित हुनेछ ।

सन् २०१४ ताका ब्राजिल जति नेयमारमा भर पर्थ्यो, अहिले त्यो स्थिति छैन । घाइते नेयमार बिना रसिया र जर्मनीविरुद्ध हालै हासिल गरेको जीतले त्यो कुरा प्रमाणि गर्छ ।

यस्तो नेयमारको ट्यालेन्ट बोनस हो टिटेका लागि ।

तर, यसमा दुई समस्या आउँछ ।

अन्य स्टार खेलाडी जस्तै नेयमार व्यक्तिगत सफलताको लागि भोका छन् । तर, उनको व्यक्तिगत सफलताकोे चाहनाले टोलीका भने लागि सँधै सकारात्मक परिणाम नल्याउन सक्छ । जस्तो कि गत नोभेम्बरमा इंग्ल्याङविरुद्धको गोलरहित बराबरीमा उनले चाहेभन्दा बढी गर्न खोजिरहेका थिए ।

नेयमार यति राम्रो खेलाडी छन् उनी अरुले नदेख्ने कुरा चाँडो देख्छन् । उनीसँग धेरै विकल्पहरु हुन्छन् । तर, दबाबमा के उनले टोलीका लागि सही विकल्प चुन्ने छन् ? टिटेले यो कुरा सुनिश्चित गर्नुपर्छ ।
उनले नेयमारमा बेलाबेला देखिने एउटा खराब बानीलाई पनि नियन्त्रण गर्न जरुरी हुन्छ ।

खेलका दौरान यस्तो समय आउँछ जब नेयमार विपक्षीलाई फल गराउन उद्धत देखिन्छन् । उनी सजिलै मैदानमा लडिदिन्छन् । यसबाट विपक्षी आक्रोशित बन्छन् र अन्ततः शिकार नेयमार नै बन्छन् । १४ वटा छनौट चरणका खेलमा उनले ६ वटा पहेँलो कार्ड पाएको कुराले पनि यो पुष्टि गर्छ । यदी उनले यही दरमा पहेँलो कार्ड खाए भने विश्वकपमा महत्वपूर्ण खेल गुमाउने छन् ।

यो पटक ब्राजिल चाहन्छ, नेयमार प्रतियोगिताको अन्तयसम्म खेलुन् र छैटौँपटक उपाधि उचालेर घर फर्कुन् । त्यसो गर्न सके पछिल्लो ६० वर्षमा युरोपमा ब्राजिलको यो पहिलो उपाधि हुनेछ ।

बिबिसीबाट अनुवाद

(Visited 1 times, 1 visits today)

२२ जेष्ठ २०७५, मंगलवार ०५:१० मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts