समृद्धिको दिगोपनाका लागि पर्यटन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार ०१:१५

नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायबाट ४ प्रतिशत, जिडिपिको २.८ प्रतिशत र रोजगारीमा ३.२ प्रतिशत योगदान रहेको छ । हालै नेपाल सरकारले सन् २०२० लाइ “नेपाल भ्रमण वर्ष” घोषणा गरी १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । सन् २०१८ को सुरूदेखि हालसम्म ५ लाख २० हजार १४ जना बाह्य पर्यटकहरूले भ्रमण गरेका छन भने सन् २०१७ पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटकहरू भित्रिएको तथ्यांक छ । आधुनिक पर्यटनले ११ वटा ब्यवसायिक क्षेत्रमा रोजगारी सृजना गरेको छ । जसको माध्यमबाट दिगो, दरिलो आर्थिक बिकासमा टेवा पुग्नुका साथै संबृद्द नेपाल निर्माणमा बिशेष भूमिका रहने छ ।

विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवाशको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ ।  भने यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग भनिन्छ ।

प्राचीन समयमा रोमन रिपब्लिककै समयदेखि ठूला भवनहरु हेर्न, कलाकौशलको मजा लिन, नयाँ भाषा सिक्न, नयाँ संस्कृतिहरुको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन सम्पन्न मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यसै क्रममा पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएका हुन् । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो । “थमस कुक”ले ट्राभल एजेन्सी मार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको हो । इन्डोनेशियाको बाली, कोलम्विया, ब्राजिल, क्युबा, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया लगायतका ठाउँहरु हिउँद तथा ग्रिष्म दुवै श्रृतुमा उच्च भ्रमण गरिने स्थानमा पर्छन् ।

विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ र पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । नेपाल सरकारले पछिल्लो दशकमा बिश्वभरबाट १० पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुरूप “पर्यटनका लागि संङसंगै” भन्ने नारा सहित सन २०११ मा उक्त योजना सफलताका साथ सम्पन्न भयो । त्यसैगरी पर्यटनको बाह्य र आन्तरिक प्रवद्र्धनका लागि बि.स. २०७३ लाइ “आन्तरिक घुमफिर वर्ष” को रूपमा मनाएको छ भने सन २०२० लाइ “नेपाल भ्रमण वर्ष” मनाउने गरि कार्ययोजना र प्रयासहरू भइरहेका छन । दिगो र दीर्घकालीन पर्यटन बिकास गर्न सहर देखि गाउँगाउँ सम्म होमस्टे, ग्रामिण  पर्यटन, स्थानीय प्रबिधि र साधनमा प्राथमिकता दिनुपर्छ । बिश्व जगतमा नेपाल सुरक्षित, शान्त र सुन्दर देश हो भन्ने सन्देस सम्प्रेषण गर्नुपर्छ । यसका लागि पर्यटन क्षेत्र लक्षित स्वदेशी तथा बिदेशी लगानि र कार्यक्रमहरू भित्र्याउन राज्यले स्पस्ट नीति, योजना तर्जुमा र मार्गदर्शन तय गर्नु जरूरी छ ।

मानिसहरुको व्यस्तता, मुद्राहरुको सहज प्रयोग, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हुनु, सञ्चारको तिब्र विकास र बिश्वब्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, बिश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ । सन् २००० पछाडिका केही वर्षमा विश्वमा आर्थिक मन्दी बढेको समयमा केही घट्न गएतापनि फेरी सकारात्मक मोड लिंदै अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्याले २०१६ को डिसेम्वरमा एक अरब भन्दा संख्या नाघिसकेको छ ।

नेपाल संसारमै थोरै क्षेत्रफलमा सबै भन्दा बढी बिबिधता भएको देशमा पर्छ । विश्वका १० विश्व सम्पदा सूचीमा परेका सम्पदा नेपालमा हुनु, संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८००० मिटर भन्दा माथिका हिमाल हुनु, उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूर्णका हिम श्रृंखलाका साथै तराइका फाँट र घना जंगल हुनु, भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्ड लगायतका धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, रयाफटिङ, जंगल सफारी, लगायतका साहसीक  गतिविधिको लागि उपयुक्त वातावरण हुनु, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन लगायतका नरम साहसी गतिविधिको अन्तर्राष्ट्रिय संगम स्थल हुनु, अनुपम धरातलीय, जैविक, सांस्कृतिक विविधताको खानी हुनु, नेपालीहरुको जस्तै दुःखमा पनि हाँसी रहने अनुहार, अतिथिलाई सत्कार गर्ने बानी र संस्कार हुनु, अर्ब भन्दा बढी जनसंख्या भएका दुई छिमेकी राष्ट्र चीन र भारतको बीचमा अवस्थित हुनु आदिको कारणले नेपालमा पर्यटनको विकासको प्रचुर सम्भाव्यता भएको कुरामा दुईमत छैन ।

विगतका दशकहरूमा पर्यटन विकासको क्षेत्रमा सरकारी वा गैर–सरकारी स्तरमा उल्लेखनीय प्रगति भएको छ । त्यस अनुसार पर्यटनसम्बन्धी कैयौं नीति, योजना, ऐन, गुरुयोजना वा कानूनहरू बनेका छन् भने सरकारी वा गैर–सरकारी स्तरमा पर्यटनसम्बन्धी काम गर्नका लागि थुप्रै संस्थाहरूको गठन र विकास भएको छ । पर्यटनको क्षेत्रमा भएका यी सबै कार्यहरू महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले पु¥याउने योगदान र त्यसको सम्भावित भविष्य समेतमाथि ध्यान दिंदै त्यसका लागि सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त वा कम हुने गर्दछ ।

आर्थिक वर्ष २०७५–७६ मा सरकारले कुल बजेटको जम्मा ५ अर्ब २० करोड ३४ लाख रकम पर्यटनका लागि विनियोजन गरेको छ । उक्त बजेट पर्यटनको विकासका लागि मात्र नभएर पर्यटन, संस्कृति र नागरिक हबाई उड्डयनको विकास र साधारण खर्चका लागि छुट्टाइएको एकीकृत रकम हो । त्यो रकम मध्ये पनि ठूलो अंश लुम्बिनीको विकास र पोखराको अन्तर्राष्ट्रिय विमान स्थलको निर्माणका लागि छुट्टाइएको छ । त्यसपछि पर्यटनको विकासका लागि अत्यन्त न्युन रकम बाँकी रहन्छ । त्यो न्युनतम रकमले पर्यटनको क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न हुन सक्दैन । खास गरेर ग्रामीण पर्यटन, विभिन्न जिल्लाहरूमा पर्यटन विकास क्षेत्रहरूको निर्माणमा समेत जोड दिने हो भने पर्यटनका लागि बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता छ ।

पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भए पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो । सन् १९९० मा राजनैतिक बहुदलिय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो । सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीच जनयुद्धकालमा भएको हिंसा, प्रति हिंसा, जनआन्दोल, मधेस जनआन्दोल लगायतका कारणले गर्दा पर्यटनमैत्री वातावरण बन्न सकेन । सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः घुँडा टेक्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुको तर्फबाट चुनाबि घोषणापत्रमा प्रतिबद्दता प्राथमिकता प्राप्त क्षेत्र भनिएता पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति निर्माण र वातावरण निर्माण हुन सकेको छैन । बिगत २५ वर्ष अगाडिदेखि आवधिक निर्बाचनताका बिभिन्न राजनीतिक दलहरुका घोषणापत्रमा महत्वकांक्षी योजना सहितका बैज्ञानिक पर्यटनका नारा लगाइएता पनि क्रियान्वयन पक्षमा जोड दिइएको पटक्कै छैन।

नेपालको पर्यटन विकासमा अरु स्पष्टता आवश्यक देखिन्छ । काठमाण्डौंलाई प्रशासनिक लगायत अन्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्नुपर्ने भएको हुनाले पोखरा, चितवन, सोलुखुम्बु, इलाम, मुस्ताङ लगायतका ठाउँलाई पर्यटनको हबको रुपमा विकसित गर्नुपर्छ, पूर्व, पश्चिम, हिमाली क्षेत्र, कर्णाली क्षेत्र लगायतका ठाउँमा हब–सब स्थापना गरी सोही अनुसारको वातावरण र पूर्वाधार निर्माण गर्नुपर्छ । पदयात्रा मार्गहरु जोगाउने र वैकल्पिक पदयात्रा मार्गहरुको खोज, पहिचान, ग्रामिण क्षेत्रसम्म पुग्ने यातायात सन्तालन  र विकासमा स्पष्ट नीति आउनु पर्छ । पर्यटकहरुको आगमन संख्या, बसाईंको अवधि, प्रति पर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र बस्तुहरुको बैज्ञानिक विविधीकरण तथा स्थानिय कला, साहित्य, धर्म, सँस्कृतिको संरक्षण एवंम् विकास गर्दै विश्व पर्यटन बजारमा बजारीकरण गर्नुपर्छ भने दक्ष जनशक्ति विकासमा पनि उतिकै ध्यान दिनुपर्छ । सरकारको तर्फबाट नीति निर्माण र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ भने नीजि क्षेत्रको तर्फबाट गुणस्तरिय सेवा दिने र ब्यबस्थापनमा विशेष ध्यान जानुपर्छ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन उद्योग हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो ।

पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ । पर्यटनको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीतिक योजना तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ । निश्चित रुपमा पर्यटन उद्योगको विकासका लागि पर्यटनसंग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार, संरक्षण र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन ।

बि.स. २०७२ को महाभुकम्पका कारण धेरै पर्यटकीय एतिहासिक सम्पदाहरू ध्वस्त भएता पनि हाल पुननिर्माणले गति लिइएको छ, नेपालमा बिगतमा जस्तो पर्यटकीय सम्भाबना अहिले पनि त्यो भन्दा बढी छ, “नेपाल विश्वको नमुना” भन्ने सन्देस बिश्वमा सम्प्रेषण गर्नु जरूरी छ ।

ग्रामीण पर्यटनको विकासबारे विचार गर्दा स्थानिय श्रोत साधनको आधार बलियो भएपछि नै ग्रामीण विकासले ठोस रूप लिन सक्नेछ र त्यसबाट ग्रामीण पर्यटनलाई पनि मद्दत पुग्नेछ । आर्थिक विकासको लागि सरकारी स्तरबाट विभिन्न योजनाहरू लागू गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यक्रमहरू अगाडि बढाउन प्रोत्साहित गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्दछ । सरकारले प्रस्तुत गरेको पर्यटनसम्बन्धी रणनीतिक योजना (२०१६–२०२५) ले खालि पर्यटनसंग सम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाइएको छैन ।

अतः नेपालको विशिष्ट अवस्थिति, छिमेकी देशहरुबाट लिन सकिने फाइदाको सम्भाव्यता, नेपालमा भएका उत्कृष्ट, अतुलनीय र विश्व प्रसिद्द पर्यटकीय सम्पदाहरु, तिर्थस्थलहरू,  धरातलीय, वनस्पतीय, जैविक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् जातिय, जनजातिय विविधताहरु, अनेकतामा एकता लगायतका अन्य थुप्रै साहसिक गतिविधिको प्रचुर सम्भाव्यताका पक्षहरुलाई मध्यनजर गर्दै राज्य र निजी क्षेत्रको तर्फबाट ढुक्क भएर पर्यटनलाई बन्द, हड्ताल मुक्त क्षेत्र घोषणा गर्नुपर्छ । यस्ता अहम विषयमा सम्बद्ध पक्ष गम्भिर बन्न सक्ने हो भने नेपाल र नेपालीको अनुहारमा चमक ल्याई आर्थिक सम्बृदिको विकास हासिल गर्नमा पर्यटन उद्योगले महत्वपूर्ण योगदान गर्न सक्ने कुरामा शंका छैन । यसमा प्रतिबद्धता, इमान्दारी र शंवेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने पर्यटन क्षेत्रले मुलुकको आर्थिक बिकास र दिगो संबृद्दिमामा उच्च योगदान पुग्ने देखिन्छ ।

 

drkhatiwada1992@gmail.com

 

(Visited 1 times, 1 visits today)

२८ श्रावण २०७५, सोमबार ०१:१५ मा प्रकाशित

विशेष

सबै

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन् । समाज खबरसंगको कुराकानीमा उपाध्यक्ष परियारले.....

नेविसंघमा ढोका बन्द गरी झ्यालबाट नेतृत्व ल्याउन खोजे मान्दैनौ : केन्द्रीय सदस्य भट्ट

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले महाधिवेशन प्रभावित गरी झ्यालबाट नेतृत्व खडा.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts