‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार ०१:२३

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज आचार्यसंग गरिएको विशेष कुराकानी–

वीपी कोइरालालाई कसरी स्मरण गर्नुहुन्छ ?

राजनीतिमा पनि कुटनीतिमा पनि एउटा सिद्धान्त छ यथार्थवादी र अर्को उदारवादी आदर्शवादी । वीपी कोइराला चै उदारवादी आदर्शवादी राजनीतिज्ञ हुनुहुन्थ्यो । उदारवादी आदर्शवादी राजनीतिज्ञले वर्तमानको यथार्थलाई परिवर्तन गरेर भविष्यमा एउटा जुन आर्दश आफूले देखेको हुन्छ त्यो आदर्श बमोजिम परिवर्तन गर्न चाहन्छ । त्यही प्रयास गर्ने उदारवादी आदर्शवादी नेताका रुपमा म वीपी कोइरालालाई स्मरण गर्छु ।

वीपीलाई राजनीतिज्ञले राजनीतिक दृष्टिले, साहित्यकारले साहित्यिक दृष्टिले वीपीको व्याख्या गरेको पाइन्छ । वीपीको निधनको यत्तिका वर्षपछि आज सर्वसाधारण नेपालीले सम्झन चाहे भने वीपीलाई कुन रुपमा सम्झने ?

भारतीय पत्रकार त्रिशंकर मुखर्जीले कलकत्ताको अमृता बजार पत्रिकाका लागि वीपी कोइरालाको अन्तर्वार्ता लिनुभएको थियो । वीपीको निधनपछि छापिएको अन्तवार्तामा पत्रकार मुखर्जीले तपाईलाई भावी पुस्ताले कसरी सम्झियोस् भन्ने चाहनुहुन्छ भनेर सोध्नुभएको छ । जवाफमा वीपीले अन्कनाएर भन्नुभएको छ, ‘खै कसरी सम्झने, सम्झनैपर्ने मैले के गरेको छु ? सम्झने नै भए असल मान्छेका रुपमा सम्झिए हुन्छ ।’ डेढ पेज लामो अन्तवार्तामा वीपीले ‘रिमेम्बर मि एज गुड म्यान’ भन्नुभएकोले साधारणले मान्छेले स्मरण गर्दा उहाँलाई असल व्यक्तिकै रुपमा हेर्नुपर्छ होला । वीपी बहुआयमिक व्यक्तित्व हुनुहुन्थयो । राजनीतिक व्यक्तित्वसंगै उहाँको साहित्यिक व्यक्तित्व पनि थियो । राजनीतिक, साहित्यक र दार्शनिक व्यक्तित्व वीपी कोइरालाको रहेको छ । यी सबै कोणबाट वीपीलाई स्मरण गर्नुपर्छ ।

क्रान्तिको नेतृत्व गर्ने वीपी कोइराला , नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपी कोइाराला र महेन्द्रको कदमपछि प्रजातन्त्र पुर्नस्थापनाका लागि संघर्ष गर्दागर्दैको वीपी कोइराला । समग्रमा उहाँ सफल हुनु भयो कि असफल ?

यो प्रश्नपनि भोला चटर्जीले सोध्नुभएको थियो । भोला चटर्जीको अन्तवार्ता ‘दि टेलिग्राफ’ भन्ने कलकत्ताको पत्रिकामा छाएिको थियो । वीपीले भन्नुभयो, सफलता केलाई भन्ने ? कस्तोलाई सफलता भन्ने ? यदि मैले प्रजातन्त्र प्राप्तिका निम्ती संघर्ष गर्दा कुनै कुरा बाजी लगाउन बाँकी रहेको भए वा मैले कुनै कुरा बाजी राख्न नसकेर प्रजातन्त्र स्थापना नभएको भए म असफल हुन्थे होला । म दुःखी पनि हुन्थे होला । तर प्रजातन्त्र प्राप्तिको लडाइ जित्न मैले मसंग भएका सबै कुरा बाजी राखे । मे रो जीवन बाजी राखे । कैयौ पटक म मृत्युको नजिक पुगे । जेल गए, निर्वासनमा गए र मृत्युदण्डको मुद्धाको सामना पनि गरे । यो सबै प्रक्रियामा मैले बाजी लगाउन बाँकी चिज केही थियो भने म असफल हुन्थे होला । त्यसैले मेरो कर्तव्यमा म चुकिन र मैले सकेको प्रयास गरे । त्यसकारणले मलाई सन्तोष छ । म सफल भएकै ठान्छु भनेर वीपीले भन्नु भयो । वीपीको निधनपछि दक्षिण भारतबाट छापिने ‘डेक्कन हेराल्ड’ भन्ने पत्रिकाको सम्पादकीयमा भनिएको छ, ‘अरु राजनीतिज्ञको सफलताभन्दा वीपी कोइरालाको असफलता धेरै उच्च कोटिको थियो । यसैबाट बुझ्न सकिन्छ कि वीपी कत्ति सफल हुनुभयो भन्ने कुरा ।

आज समाजवाद संविधानमा लेखिएको छ । सत्ता र प्रतिपक्ष दुवैतिर समाजवाद चर्चाको केन्द्रमा छ । यो त्यही समाजवाद त्यही हो जुन वीपीले भन्नुभएको थियो ?

अब अहिलेका नेताहरुले समाजवादलाई कसरी बुझेका छन् त्यो मलाई थाहा छैन । तर वीपी कोइरालाले २०१५ सालको चुनाव अगाडि नै समाजवादी अभियान थाल्नुभएको थियो । नेपालको सन्दर्भमा भूमि सुधार भयो, राजा रजौटा प्रथा अन्त्य भयो , बिर्ता उन्मुलन भयो, गुठी जग्गा रैकर गर्ने कुरा भयो यो सबै कुरा वीपीले त्यो समयमा ल्याएको समाजवादी कार्यक्रम नै हो । अब अहिले राजा रजौटा छैनन भूमि सुधार त्यसै अलपत्र अवस्थामा रह्यो । अब त भूमि सुधारको कुरा गर्दा के भुल्नुहुन्न भने युवाहरु खाडीमा गएका कारणले हाम्रा गाउँघरमा जग्गा बाँझो छ । अहिलेको सन्दर्भमा समाजवाद भनेको विदेशीएका युवालाई गाउँ फर्काएर बाँझो जमिनलाई हराभरा बनाउनु नै हो । जोसुकै प्रधानमन्त्री भएपनि १२–१५ सय नेपाली युवा दिनहुँ विदेशिएका छन् । अब गाउँको विकासलाई नै समाजवाद भन्नुपर्छ र जो गाउँको सर्वाङ्गीण विकासका लागि खटिन्छ उही समाजवादी हो भनेर वीपीले भन्नुभएको थियो । तर अहिले विडम्बना गाउँ उपेक्षित छ । कसैको ध्यान गाउँमा गएको छैन, सहर पनि अव्यवस्थित छ । त्यसैले गाउँको विकास नै समाजवाद हो भन्ने धारणालाई स्वीकारेर अहिले पनि त्यसैका लागि लागि पर्नुपर्ने आवश्यकता देखिन्छ ।

अहिले राष्ट्रियता विश्वव्यापी बहस र लहरको विषय बनेको छ । नेपालमा पनि वीपीभन्दा को राष्ट्रवादी भन्ने चर्चा अहिले पनि चलिरहन्छ । राष्ट्रियताको दृष्टिले वीपीलाई कसरी बुझ्ने ?

वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ । राष्ट्रवादले राष्ट्रिय विकासको निम्ति सहयोग गर्न सक्नुपर्छ । अब अहिलेको राष्ट्रवादले राष्ट्रिय विकासमा के सहयोग गरेको छ ? यही प्रश्नको जवाफ खोज्नुपर्छ । उहाँको राष्ट्रियताको नारा यथार्थपरक थियो । जस्तो भनौ न वीपी प्रधानमन्त्री हुनुअघिसम्म १० राष्ट्रसंगमात्रै नेपालको कुटनीतिक सम्बन्ध स्थापित थियो । आफ्नो १८ महिने प्रधानमन्त्रीकालमा वीपीले नयाँ १६ राष्ट्रसंग नेपालको कुटनीति सम्बन्ध स्थापना गरेर २६ पु¥याउनुभयो । नेपालको परिचय विश्वजगतमा बढाउनुभयो । यो एउटा सार्थक प्रयास थियो नेपालको राष्ट्रिय छविलाई अन्तर्राष्ट्रिय परिवेशमा स्थापित गराउने । अब अहिले १ सय ४० हाराहारी देशसंगै हाम्रो औपचारिक कुटनीतिक सम्बन्ध रहेको छ । तर अहिले यो कुटनीतिक सम्बन्धले नेपाललाई फाइदा भयो कि भएन ? यो प्रश्न टड्कारो छ । हाम्रो भारत र चीनसंगको सम्बन्ध कत्तिको सन्तुलित र फलदायी छ भन्ने कुराको विश्लेषण गरे नै अहिलेको राष्ट्रवादको मूल्यांकन गर्न सकिन्छ ।

समयक्रममा भारतको विरोध गर्नु नै राष्ट्रवाद जस्तो भइसकेको हो ?

यो भनाईमा सत्यता छ । विगतमा पनि र अहिले पनि एक प्रकारले भारतको विरोध गर्नु नै राष्ट्रियताको पर्यायवाची जस्तो भएको छ । विगतमा राजाको विरोध गर्नु प्रजातन्त्रको पर्यायवाची हुन्थ्यो । भारतको विरोधले मात्रै राष्ट्रियता र राष्ट्रको विकास हुन सक्छ कि सक्दैन छुट्याउनुपर्ने बेला भएको छ । भारतको विरोध गरेर केही समय कामलाग्ला तर भारतमाथिको परनिर्भरता उत्तिकै बढेको छ । नेपालको ११ सय अर्बको नेपालको व्यापार घाटामध्ये ७ सय ६४ अर्ब व्यापार घाटा त भारतसित मात्रै छ । निर्भरताको कुरा गर्ने हो भने विम्स्टेकपछि भारतको पहलमा संयुक्त सैनिक अभ्यासको तयारी भइरहेको छ । यसको विरोध पनि भइरहेको छ । सत्तारुढ दलभित्रै पनि विवाद बढेको छ । यो विषयलाई प्रधानमन्त्री र अन्य नेताहरुले कसरी प्रष्ट पार्नुहुन्छ सरोकारको विषय बनेको छ ।

तपाईले आफ्नो एउटा लेखमा वीपी देशको आन्तरिक स्थिति , देशबाहिरको शीतयुद्ध र भारत– चीन तनावका कारण राजा महेन्द्रको शिकार भए भनेर लेख्नुभएको छ । यसलाई प्रष्ट पारिदिनुहोस् न ।

हो । मैले हेर्दाखेरि प्रजातन्त्रको मामिलामा वीपी राजा महेन्द्रको शिकार हुनुभयो र राष्ट्रियताको सन्दर्भमा वीपी भारतको शिकार हुनुभयो । किनभने २०१७ साल पुस १ गतेको काण्डमा भारतको पनि मौन समर्थन रहेको देखियो । वीपीप्रति तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु असन्तुष्ट रहनुका धेरै कारणहरु देखिए । त्यसैको परिणाम स्वरुप २०१७ साल पुस १ गतेको काण्ड भयो । मेरो अध्ययनमा यही देखिन्छ ।

कतिपयले एउटै जंगलमा दुइटा सिंह भएजस्तै, महेन्द्र र वीपीको व्यक्तित्वको टकरावका कारण राजनीति सुध्रिएन भन्छन् । के महेन्द्र र वीपीको व्यक्तित्व तुलना हुनसक्छ ?

त्यतिखेर जान्नेबुझ्ने भइसकेको भए, युवा व्यक्तित्व भएको र उहाँहरुको व्यवहार देख्न जान्न पाएको भए भन्न सकिन्थ्यो । तर अध्ययनको अनुभवका आधारमा उहाँहरुबीच मुख्य कारक नै व्यक्तित्वको टकराव भएको जस्तो लाग्दैन । यद्यपि परम्परागत राज्य शक्तिको प्रतीक राजा महेन्द्र थिए । अर्कोतिर आधुनिक प्रजातान्त्रिक प्रणालीबाट उत्पन्न भएको राष्ट्रिय नेतृत्वलाई प्रतिनिधित्व गर्ने शक्ति वीपी हुनुहुन्थ्यो । त्यसैले थोरबहुत व्यक्तित्वको टकराव थियो पनि होला । यो कुरा मैले वीपीकै समकालीन नेताहरुलाए पनि सोधे । मेरो अध्ययनबाट वीपी र महेन्द्रको व्यक्तित्वभन्दा पनि वीपी र महेन्द्रसंग भारतीय प्रधानमन्त्री जवाहरलला नेहरुको व्यक्तित्व टकरावले चै धेरै असर पारेको हुन सक्छ ।
अहिले वीपी कोइरालापछिको सबैभन्दा शक्तिशाली सरकार देशमा रहेको छ । दुई तिहाईको यो सरकारसंग के अवसर , के चुनौती छ ।
अवसर त्यही हो दुई तिहाई बहुमत छ । चुनौती चै के हो भने वीपीको जस्तो व्यक्तित्व, स्पष्ट भिजन र अन्तर्राष्ट्रिय छवि अहिले छैन । वीपीको समयमा देशका धेरै राजमार्गहरु बनेका थिएनन, काठमाडौंभित्र पनि विकासको गति बम थियो । अहिले त हामी ६ दशक अगाडि बढीसक्यो । अहिले त हामी सुविधासम्पन्न भइसक्नुप¥थ्यो । हिजोभन्दा खराब बाटो आज काठमाडौंमा छ । यी कारणहरुले गर्दा वीपीले नेतृत्व गरेको सरकार र अहिलेको सरकारको तुलना हुनै सक्दैन ।

‘राजासंग घाँटी जोडिएको’ भन्ने वीपको भनाईलाई सबैले आफू अनुकुल व्याख्या गरेका छन् । यो राजतन्त्रप्रतिको वीपीको मोह हो वा रणनीतिक उद्धरण मात्रै हो ?

त्यो वीपीले राजासंग मेरो घाँटी जोडिएको छ भन्ने कुरा साहित्यिक अलंकारिक रुपमा भन्नुभएको हो । यथार्थमा प्रजातन्त्र र राजसंस्थाको भविष्य एउटै हो भन्नुभएको हो । आखिरमा यो पुष्टि पनि भयो । राजसंस्था कहिले समाप्त भयो त भन्दा जब राजाले प्रजातन्त्रको घाँटी निमोठे । राजाले प्रजातन्त्रको घाँटी निमोठ्दा राजसंस्था नै सकिन्छ भनेर दिएको चेतावनी दिनुभएको हो वीपीले । यो त ५ कक्षाको विद्यार्थीले पनि बुझ्न सक्छ । यसलाई बंग्याएर आफू अनुकुल व्याख्या गर्नु त गलत काम हो ।

वीपीका अनुयायी हौं भन्नेहरुको व्यवहार कस्तो लाग्छ ?

वीपीका अनुयायी हौं भन्नेहरुले सायद वीपीलाई बुझेका थिएनन् । त्यसैले वीपीका अनुयायी हौं भन्नेबाहेक उनीहरुले कुनै दृष्टिकोण र वीपी व्यक्तित्वको छाप बोकेर हिडेको देखिदैन । वीपीको सबैभन्दा नजिकका हौं भन्नेले पनि वीपीको व्यक्तित्व, विचार, दर्शन, सिद्धान्तबाट टाढा भएर अध्याँरोमा बसेको देखिन्छ । वीपीका विरोधीले पनि वीपीलाई समर्थन गर्दै वीपीको विचार आफूले पालना गरेको दावी गर्नुको कारण पनि के हो भने उनीहरुले पनि आफ्नो उचाइ र औचित्य सावित गर्नका लागि पनि वीपीकै दुहाई दिनुपरेको छ ।

साँच्चै वीपीले भनेजस्तो राष्ट्र निर्माणको चुनौती के छ ? कस्ले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?

आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा व्यापक विकृतिहरु देखिएका छन् । प्रशासन र न्यायप्रणालीमा पनि यस्तै विकृति बढेको छ । यसबाट देशलाई छुटकारा दिने भनेको युवा पुस्ताले हो । युवापुस्ताले आफ्नो नैतिक चरित्र र व्यक्तित्वलाई सुरुदेखि नै परिमार्जन गरेर समाजसेवामा लगाउन एउटा त्याग र बलिदानको अध्याय फेरि सुरु गर्नुपर्छ जस्तो लाग्छ । चुनौती यही हो । यो गर्न अहिलेका पुस्ताले सक्छन् कि सक्दैनन् । फेरि वीपीलाई नै उद्धरण गर्छु । प्रजातन्त्र आएपछि सुकिला मुकिलाहरु हावी हुने र उनीहरुकै आधिपत्य बढ्ने क्रम आउँछ र त्यसका विरुद्ध सच्चा युवा कार्यकर्ताले संघर्ष गर्नुपर्छ भनेर वीपीले भन्नुभएको थियो । अहिले त्यही संघर्ष गर्ने बेला आएको छ । यो दायित्व युवाहरुले पूरा गर्न सक्छन् कि सक्दैनन्, बाँचुञ्जेल हेर्ने हो ।

– देशान्तरबाट

(Visited 1 times, 1 visits today)

२४ भाद्र २०७५, आईतवार ०१:२३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts