न्याय माग्नेविरुद्ध सरकारको यस्तो ज्यादती

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०१:४०

काठमाडौं । बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् ।

कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे । आगन्तुकले उनीसँग सेल्फी खिचे । अर्जुन फिस्स हाँसे, बोल्न सकेनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन । गोली दायाँ खुट्टाको पिँडुलामा लागेको थियो ।

अत्यधिक रक्तस्रावपछि उनी घटनास्थलमै बेहोस भए । हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याइएपछि उनलाई मनमोहन कार्डियालोजीको आइसियूमा राखियो । गोलीको घाउले खुट्टामा संक्रमण भयो र तिघ्राभन्दा मुनिको भाग काट्नुप-यो । खुट्टा गयो, तर छोराको होस फर्केला भन्ने आस थियो आमालाई । करिब दुई महिनाको सघन उपचारपछि छोराको होस त खुल्यो, तर पूरै होइन, आधा मात्र ।

‘चार महिना भयो बोल्न सकेको छैन । टाउकोबाहेक शरीरका कुनै अंग चल्दैनन् । खाना खुवाउनेदेखि दिसा–पिसाबसम्म हामीले नै गराइदिनुपर्छ । ओछ्यानमा पनि न दायाँ फर्कन सक्छ, न बायाँ । भर्खर २० वर्ष भयो । जीवनभर यस्तै भए यसको स्याहार कसले गरिदिन्छ होला ?’ आमा शिवकलाले नयाँ पत्रिकासँग भनिन् । अर्जुन स्थानीय मर्निङग्लोरी उच्च माविबाट प्लस टु सकेर इन्जिनियरिङको तयारी गर्दै थिए ।

‘छोराले साइन्समा १२ पास गरेर इन्जिनियरिङ पढ्ने तयारी गर्दै थियो । प्रहरीको गोली लागेर यस्तो हविगत भयो । इन्जिनियर बन्ने सपना त कता गयो–गयो,’ शिवकला भावुक बनिन् । उनलाई छोरो बोलिहाल्छ कि भन्ने आशा पनि छ । ‘चार महिना भयो, अझै कति बस्नुपर्ने हो ठेगान छैन । कहिलेकाहीँ हाँस्दा बोली पो हाल्छ कि झैँ पनि लाग्छ । तर, बोली फुट्दैन । मन पिरोलिन्छ,’ उनले भनिन् ।

७ भदौमा कञ्चनपुर आन्दोलित थियो । आन्दोलनकारी र प्रहरीबीच झडप भइरहँदा अर्जुन घरमा खाना खाने तयारीमा थिए । त्यही वेला आएका एक साथीले उनलाई ‘आन्दोलनमा जाऊँ’ भने । खाना छाडेर आन्दोलनमा गए । आन्दोलन चर्किंदै जाँदा प्रहरीले चलाएको गोली लागेर अर्जुन घटनास्थलमै ढले । रक्ताम्य उनलाई महेन्द्रनगरस्थित अञ्चल अस्पताल लगियो । त्यहाँ उपचार नभएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल पु-याइयो । त्यहाँबाट हेलिकोप्टरमा काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको हो । अस्पतालमा अझै कति बस्नुपर्ने हो ? डिस्चार्ज भएपछि उनको जीवन कसरी चल्ने हो ? सोचेर आमा हतासिन्छिन् ।

 कक्षा ८ मा अध्ययनरत किशोरको हातमा गोलीको छर्रा, स्कुल अवरुद्ध

भीमदत्तनगर–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो । अहिले पनि उनको हातमा गोलीका छर्रा छन् । स्थानीय भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत चेतनले स्कुल जान नसके पनि अर्धवार्षिक परीक्षा भने दिएका छन् । ‘अहिले पनि हात दुखिरहन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय जान सक्दिनँ ।’

चेतनकी आमाले गोली चलेको पहिलो दिन छोरालाई आन्दोलनबाट घर ल्याएकी थिइन् । तर, उनी दोस्रो दिन सुटुक्क आन्दोलनमा गए । ‘दोस्रो दिन सुटुक्क आन्दोलनमा गएको रहेछ, गोली लागेर म-यो भनेर खबर सुनेँ, तर भाग्यले बाँच्यो,’ आमा पुनमले भनिन् । हातमा रहेका गोलीका छर्रा निकाल्न चेतन मंगलबार काठमाडौं पुगेका छन् । उपचारका लागि सरकारले एक लाख २० हजार रुपैयाँ दिएको पुनमले बताइन् ।

 १६ वर्षीय उमेश देउवाको गोली लागेको खुट्टामा रड, पढाइमा अवरोध

भीमदत्तनगर–२ भाँसीका १६ वर्षीय उमेश देउवा चार महिना बित्दा पनि स्कुल जान सकेका छैनन् । उनको बायाँ खुट्टामा गोली लागेको थियो । अप्रेसन गरेर उनको खुट्टामा रड राखिएको छ । तीन महिना अस्पताल बसेर घर आएका उमेशले अर्धवार्षिक परीक्षा दिन सकेनन् । उमेशका बुबा यज्ञराजले छोराको पढाइ मात्र नभई जिन्दगी नै बर्बाद भएको पीडा सुनाए । ‘खुट्टा अझै निको भएको छैन, बायाँ भागको पूरै शरीर दुख्छ,’ उनले भने । उपचारका लागि सरकारले दिएको दुई लाख ५० हजार सकिएको उनले बताए । ‘आउँदो पुस १ मा फेरि अस्पतालले बोलाएको छ, उपचारका लागि खर्च छैन । सरकारले पूरै उपचार खर्च दिनुपर्ने हो किन दिएको छैन थाहा छैन,’ यज्ञराजले भने ।

– अरू घाइतेको उपचारमा खर्च धेरै, राहत थोरै
आन्दोलनका क्रममा गम्भीर घाइते अरू तीनको स्वास्थ्यमा पनि अझै पूर्ण सुधार भएको छैन । भीमदत्तनगर–२ भाँसीका ४१ वर्षीय तेजराज भट्टको टाउकोमा गोलीका छर्रा लागेको थियो । उनले भारतको महाजन मेमोरियल अस्पतालमा उपचार गराए । डाक्टरले डेढ वर्षका लागि औषधि बोकाएर पठाएका छन् ।

‘अप्रेसन भएन, डाक्टरले औषधि खानुपर्छ भने,’ तेजराजले भने, ‘अहिले औषधि खाइरहेको छु, मैले खाने औषधि नेपालमा पाइँदैन ।’ सरकारले उपचारका लागि ४० हजार मात्रै दिएको, तर आफ्नो डेढ लाखभन्दा बढी खर्च भएको उनले बताए ।

भीमदत्त नगरपालिका–१८ भगतपुरका ४३ वर्षीय सुरेश
चटौतको टाउकोमा चोट लागेको थियो । उनले पनि भारतको राममूर्ति अस्पतालमा उपचार गरे । एक लाख पाँच हजार खर्च भए पनि सरकारले ९२ हजार मात्रै दिएको उनको दुखेसो छ । ‘औषधि खाइरहेको छु, घाममा बस्दा अहिले पनि टाउको दुख्छ,’ उनले भने । घाइते भएपछि व्यवसाय चौपट भएको उनले बताए ।

११ साउनमै घाइते भएका भीमदत्तनगर–१८ कटानका ३४ वर्षीय सुरेन्द्र देउवाको दाहिने हात भाँचिएको थियो । पहिलोपटकको अप्रेसन बिग्रिएपछि उनी थप उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल गएका थिए । उनकी पत्नी आनन्दी राना देउवाले उपचारमा डेढ लाखभन्दा बढी खर्च भइसके पनि अझै पूर्ण रूपमा निको नभएको बताइन् । ‘अझै हात दुखिरहन्छ, फलोअपका लागि फेरि काठमाडौं जानुपर्ने छ,’ उनले भनिन् ।

आन्दोलनमा घाइते भीमदत्तनगर–१८ निम्बुखेडाकी ३३ वर्षीय मञ्जु गिरीको स्वास्थ्यमा पनि पूर्ण सुधार आएको छैन । अहिले पनि उनी राम्रोसँग हिँडडुल गर्न सक्दिनन् ।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

(Visited 1 times, 1 visits today)

२० मंसिर २०७५, बिहीबार ०१:४० मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts