लोकदोहोरी प्रतिष्ठानबाट अलग्गिएको बसन्तको घोषणा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार ०६:२५

२३ माघ, काठमाडौं । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा असन्तुष्टि जनाएका संगीतकार बसन्त थापाले अन्ततः लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । यो विवादमा प्रतिष्ठानले मौन रहेको भन्दै उनले यो घोषणा गरेका हुन् ।

बसन्तले सोमबार राति अबेर फेसबुकमा दुई बुँदे स्टाटस लेखेका थिए । पहिलो बुँदामा उनले लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

दोस्रो बुँदामा उनले लेखेका छन्, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस ।’

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । यसै विषयमा असन्तुष्टी जनाएर बसन्तले फेसबुकमा स्टाटस लेखे । उनले रविले गीत तोडमोड गरेको तथा अनुमतिबिना कन्सर्टमा गाएको बताएपछि विवाद उब्जिएको थियो । सो स्टाटसलाई लिएर रविका फ्यानहरुलाई उनलाई गालीगलौज गर्न थाले । जुन क्रम अहिले पनि जारी छ ।

यही बीच रविले फेसबुकमा प्रष्टिकरण दिँदै आफूले तयारीबिना दर्शकको मागअनुसार सो गीत गाउनुपरेकाले त्रुटी हुन गएको बताएका छन । रविले फेसबुक म्यासेन्जरमा बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् । तर, रविका फ्यानहरु शान्त भएका छैनन् । बसन्तलाई गालीगलौजको क्रम जारी छ ।

अनलाइनखबरसँगको कुराकानीमा बसन्तले भने, ‘म अहिले एकदमै डिस्टर्व छु । प्रतिष्ठानबाट अलग्गिने मेरो आत्मनिर्णय हो । कसैसँग सल्लाह गरेर निर्णय लिएको होइन । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ।’

यो विषयमा हामीले लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्मासँग कुरा गर्‍यौं । उनको भनाई जस्ताको तस्तैः

म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन् बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म आफैं लोकदोहोरी प्रतिष्ठानको सचिव थिए । प्रतिष्ठानले त्यो इस्यूमा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैंले व्यक्तिगतरुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छु । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धि स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।

यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी यसका लागि प्रतिष्ठानको बैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थिएन भन्ने मलाई थाहा भएन । उहाँले संस्थागत ढंगले जानु पर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर बिचलित नहुन म उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै नै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु । अरु केही लेख्दिनँ ।

प्रतिष्ठानको फागुन १ गते बैठक बस्दैछ । सम्भवत त्यस बैठकमा यो विवादबारे छलफल भएर कुनै निश्कर्षमा पुग्न सकिन्छ । तर, मुलभूत कुरा भनेको स्रष्टाको सृजना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ, तर, ती गीत सिर्जनामा कति मेहनत, दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।

(Visited 1 times, 1 visits today)

२२ माघ २०७५, मंगलवार ०६:२५ मा प्रकाशित

Popular Posts