नेविसंघ विघटन हुने, नयाँ अध्यक्ष को ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०१:४१

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ अन्ततः विघटन हुने भएको छ । विधान अनुसारको समय र थप गरिएको समयमा पनि महाधिवेशन गर्न असमर्थ भएपछि नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यसमिति विघटन गर्ने निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ ।

सभापति शेरबहादुर देउवाले नेविसंघ विघटन गर्नेबारे वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शंशाक कोइरालासंग छलफल गरिसकेका छन् । पूर्व महामन्त्री कृष्ण सिटौंला भने वर्तमान समितिलाई थप समय दिएर महाधिवेशन गराउनुपर्छ भन्नेमा केन्द्रीत छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले नै नेविसंघ विघटन गर्ने बताइएको छ । विघटनपछि महाधिवेशन गर्नका लागि नयाँ कार्यसमिति मनोनयन गरिनेछ । त्यस्तो समिति तत्काल बनाउने वा केही समय परामर्श गरेर बनाउने भन्नेमा देउवा निष्कर्षमा पुगिसकेका छैनन् । यसअघि नेविसंघमा ३२ वर्षे उमेरहद लगाइएका कारण मनोनयन गर्दा ३२ मुनिकै नेतृत्व ल्याउन देउवालाई दवाव छ । स्रोतका अनुसार सहमहामन्त्रीद्वय प्रकाश घिमिरे र प्रेमराज जोशीको नाम नेतृत्वका लागि बहसमा छ । ३२ वर्षे हद नलागेको अवस्थामा भने पौडेल पक्षका मनोजमणि आचार्य वा देउवा पक्षका सरोज थापाको सम्भावना बढी देखिन्छ ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले भने मनोनयनको विपक्षमा छन् । वर्तमान समितिलाई केही समय उपलब्ध भए महाधिवेशन गर्न सकिने काफ्ले समूहको धारणा छ ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार ०१:४१ मा प्रकाशित

Popular Posts