अख्तियार पुग्यो राप्रपा, सबै ठूला भ्रष्टाचार काण्ड छानबिनको माग
समाज खबर संवाददाता |

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार दलबलसहित गएर राप्रपाले अख्तियार प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा राप्रपाले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको, आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको उल्लेख गरेको छ ।
त्यस्तै राप्रपाले सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेकार मन्त्रीहरू एकअर्कामा कसले छिटो धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका बताएको छ । राप्रपाले सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको बताएको छ ।
राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसिकने भन्दै राप्रपाले र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।
प्रतिकृया दिनुहोस