आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

आवश्यक परेमा ५०० शैयासम्मको अस्पताल बनाउने योजनामा छौः उपकुलपति प्रा.डा.गिरी

समाज खबर संवाददाता |

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ । पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । प्रतिष्ठानमा स्थापित कोरोना अस्पतालको सेवा र प्रतिष्ठानले पुर्याउँदै आएको समग्र सेवाका बारेमा प्रतिष्ठानका नवनियूक्त उपकूलपति प्रा.डा.ज्ञानेन्द्र गिरीसँग समाजखबरले गरेको कुराकानी :

 

कोरोना भाइरसको संक्रमणलाई कसरी हेर्नुभएको छ ? 

पछिल्लो समय मुलुकमै कोरोनाको त्रास बढ्दै गएको सर्वविदितै छ । त्यसमा पनि विशेषगरी प्रदेश नम्बर १ मा कोरोनाभाइरसबाट संक्रमितहरूको संख्या बढ्दै जाँदा उनीहरूको थप उपचारको प्रबन्ध र स्वाब परीक्षणका लागि प्रयोगशाला विस्तार आवश्यक छ । पछिल्लोसमय उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित एक मस्जिदमा बसेका धेरै मानिसमा एकैसाथ कोरोनाभाइरसको संक्रमण देखिएको थियो । त्यसपछि झापा र भोजपुरमा पनि संक्रमित भेटिएका छन् । यसले कोरोना भाइरसको संक्रमण चुनौति बन्दै गएको स्पष्ट छ । यसको रोकथामका लागि युद्धस्तरमा काम गर्नु नै हाम्रो पहिलो दायित्व हुने छ ।  

यहाँले कोरोनाको संक्रमण बढ्दै गएको भन्नुभयो, यसको रोकथामका लागि के कस्तो सजगता अपनाइएको छ ?

कोरोना भाइरस संक्रमितको उपचारका लागि हामीले प्रतिष्ठानकै हाताभित्र एक सय शैयाको छुट्टै कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएर काम गरिरहेका छौं । केही दिनभित्रै थप एक सय शैयाको उपचार केन्द्र बनाइने छ । पहिलोचरणमा हामीले १०० शैयाको अस्पताल स्थापना गरेर सेवा दिइरहेका छौँ । आवश्यक परेमा हामी अरु ५०० शैयासम्मको अस्पताल बनाएर सेवा दिने क्षमता राख्छौँ ।

यहाँले अस्पताल सञ्चालनमा ल्याइएको भन्नुभयो, अहिले कसरी सञ्चालन भइरहेको छ ? 

हो, हामीले सरकारबाट निर्देशित शर्तलाई पालना गर्दै भर्खरैमात्र कोरोना संक्रमणको उपचारका लागि भनेर छुट्टै कोरोना विशेष कोभिड– १९ अस्पताल सञ्चालनमा ल्याएका छौँ । कोरोना संक्रमितलाई प्रकावकारी सेवा सुविधा दिन सकियोस् भनेर एक सातभित्रै अस्पताल निर्माण गरेका छौँ । पक्कैपनि अहिले कोरोनाको संक्रमण अन्य स्थानभन्दा प्रदेश १ मा बढी पाइएको छ । हामी संक्रमणको रोकथामका लागि जिम्मेवार भएर लागिरहेका छौँ । हामीले स्थापना गरेको अस्पताल विशेष खालको हो । शंकास्पद व्यक्तिहरूलाई कोरोना भाइरस संक्रमण भए÷नभएको प्रमाणित गर्नका लागि दुई विधिबाट परीक्षण गर्ने गरिन्छ । जसमा र्यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटी) र  पिसिआर अर्थात् स्वाब नमूना परीक्षण (पोलिमरीज चेन रियाक्सन) पर्दछ । हामी काठमाडौंभन्दा बाहिर पिसीआर अर्थात स्वाब नमूना (पोलीमरीज चेन रियाक्सन) विधिमार्फत परीक्षण गर्ने अस्पतालमा पहिलो नम्बरमा छौँ । कोरोनाको पनि पहिलो, दोस्रो र तेस्रोचरण हुन्छ । हामी समुदायस्तरमा फैलिएको अर्थात् तेस्रो चरणका संक्रमितको उपचारमा बढी केन्द्रित भएका छौँ । दैनिकरूपमा हामीले १०० जनाको परीक्षण गर्दै आइरहेका छौँ । हामी यहाँ गर्भवती, एपेन्डीसाइटलगायतकाको उपचारमा केन्द्रित भएका छौँ ।

कोरोना अस्पतालमा काम गर्ने जनशक्तिमा एकप्रकारको त्रासको स्थिति त छँदैछ, उनीहरूको मनोवल बढाउनका लागि कस्तो पहल भइरहेको छ ?

पक्कैपनि कोरोनाको संक्रमणको त्रास त सबैमा हुन्छ नै । तर, हामीले कोरोना विशेष अस्पतालमा काम गर्ने जनशक्तिका लागि छुट्टै टीम बनाएका छौँ । त्यसमा डाक्टर, नर्स अनि हेल्पर हुनुहुन्छ । उहाँहरुलाई अस्पतालले नै खाने बस्ने सुविधा दिएको छ । अस्पतालमा काम गर्दासम्मको अवधिमा हामी उहाँहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्छौँ । एक साताका लागि एउटा टीम परिचालन हुन्छ । त्यो टीमको काम गर्ने अवधि सकिएपछि २–३ पटकसम्मको उहाँहरुको चेकअप गर्छौं र नेगेटिभ आए घर जान दिन्छौँ नभए आवश्यक उपचार गर्छौँ । र, अर्को कुरा उहाँहरुको सेवा सुविधामा नेपाल सरकारले दिने सबै सुविधा हामी दिन तयार छौँ । 

अलिकति प्रसङ्ग बदलौँ– जस्तो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एसियाकै पहिलो नम्बरमा मानिन्छ, यसको शैक्षिक कार्यक्रम के कस्ता छन् ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सन् १९९३ मा स्थापना भई सन् १९९८ मा स्वास्थ्य विश्व विद्यालयकारूपमा परिणत भएको हो । मुलुकका लागि आवश्यक जनशक्तिको उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने उद्देश्यलाई प्राप्त गर्ने क्रममा शुरु गरिएको एमबीबीएस शिक्षण कार्यक्रम हालसम्ममा आइपुग्दा एमएमबीबीएसलगायत बीडीएस, बीएस्सी नर्सिङ, प्रमाणपत्रतह नर्सिङ, व्याचलर अफ नर्सिङ, बीएमएलटी, बीएस्सी एमआईटी र विभिन्न विषयहरूमा पोष्टग्राजुएट जस्तै एमडीएमएस, एमडीएस, एमएस्सी नर्सिङ, एमपीएचलगायत कार्यक्रमहरुमा पठनपाठन भइरहेको छ । 

प्रष्ठिानले अहिले कस्तो खालको स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ ?

हामी यहाँबाट विश्वस्तरीय स्वास्थ्य सेवा दिइरहेका छौँ । हालको अस्पताल सेवालाई प्रतिष्ठानले विभिन्न किसिमका विषेशज्ञहरुको व्यवस्थासहित आधुनिक उपकरणहरु जडानले गर्दा काठमाडौँ बाहिर यस प्रतिष्ठानमा मासु परीक्षण सेवा, विविध सेवासहितको जनरल प्राक्टिस तथा अटो एनालाईजर सेवा उपलव्ध छन् भने रगतको क्यान्सर र रक्तश्रावसँग सम्बन्धित रोगहरूसम्बन्धी विषेश परीक्षण गर्ने सुविधा पनि रहेको छ । यसबाहेक विशेष एचआईभी प्रयोगशाला, विशेष कालाजार प्रयोगशाला र आँखाको नानी प्रत्यारोपण गर्ने शल्यक्रिया, सीटी स्क्यान, एमआरआई सेवा पनि प्रतिष्ठानमा उपलव्ध छ ।

अस्पताल सुधारका लागि तपाइको प्रयास कस्तो हुने छ ?

पक्कैपनि यहाँ भित्र रहेका विकृतिहरूको नियन्त्रण गरी अस्पताललाई स्वस्थ बनाउन कुनै कसर बाँकी राखिने छैन । म आएको भर्खर २ हप्ता पुगेको छ । म मेरो टीम मिलेर कोरोनाको संक्रमणको सामना गर्न एक हप्ताभित्रै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौं । अब यहाँका सिटी स्क्यान मेशिन, एक्सरे, ल्यावहरूलगायत भौतिक संरचनाहरूको मर्मतसम्भार गरी पूर्णरूपमा डिजिलाइज्ड गरेर अगाडि बढ्ने तयारी गरिरहेको छु । 

बेला बेलामा यहाँ व्यापक भ्रष्टाचार हुँदै आइरहेको बिषय पनि सार्वजनिक हुने गरेको छ ,  भ्रष्टाचार, अनिमितता रोक्न के योजना बनाइरहनुभएको छ ?

विगतमा के भयो भन्ने मलाइ थाहा छैन, तर, अब त्यस्ता समाचार बन्न दिने छैन । यहाँको चुहावट रोकेर आयस्रोत बढाउने योजना बनाइरहेको छु । सबै सिस्टममा चल्नुपर्छ । सबैले सिस्टममा बसेर काम गर्नुपर्छ । जो सिस्टममा बसेर काम गर्न चाहँदैनन् त्यस्तालाई कुनै हालतमा  पनि उन्मुक्ति दिइने छैन । 

अन्तिममा यहाँ कार्यरत् कर्मचारी तथा विशेषज्ञहरूको वृत्ति विकासका कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

हेर्नुस् म भर्खरै आएको छु । मैले पनि सबै अध्ययन गर्न भ्याएको छैन । जनशक्तिसम्बन्धी समस्या के के छन् ? त्यो सबै निक्र्यौल गरेपछि एउटा योजना बनाउने छु । त्यसका लागि यहाँ कार्यरत कर्मचारी र विशेषज्ञहरूको आवश्यक सल्लाहमा के गर्दा उपयूक्त हुन्छ म त्यो गर्न तयार छु । अस्पतालभित्रका सबै विकृतिको अन्त्य गरी स्वच्छ छवि कायम गर्ने मेरो प्रयास हुनेछ । तपाइ अर्कोपटक तीन महिनाभित्र आउनुस् अनि आफैंले थाहा पाउनुहुनेछ के कति सुधार भयो भन्ने ।
 

प्रतिकृया दिनुहोस