उपन्यास `बखान´ लिएर आए वसन्त
समाज खबर संवाददाता |
काठमाडौँ । चितवनको बस्ती विकास, सहकारी आन्दोलनको शुरुवात र नेपालको प्रजातान्त्रिक आन्दोलनसंग प्रत्यक्ष जोडिएका ऐतिहासिक पात्र बखानसिंह गुरुङको जीवनका आरोह अवरोहलाई कथाबस्तु बनाइएको फरक धारको उपन्यास बखान पाठक सामु आएको छ । पत्रकार तथा लेखक बसन्त पराजुलीको नयाँ कृति बखान आज काठमाण्डौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ । कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,मदन पुरस्कार बिजेता साहित्यकार, प्राज्ञ अमर न्यौपाने,कांग्रेस सहमहामन्त्री जीवन परियार,साहित्यकार श्रीओम श्रेष्ठ रोदन,बखानसिंह गुरुङकि पनातिनी जानुका गुरुङ,नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल,राजनीतिक बिश्लेषक शंकर तिवारी,प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल, लेखक पराजुलीकि धर्मपत्नी सन्जु पौडेल लगायतले उपन्यासको लोकार्पण गरे ।
बखान तथ्य–घटनामा आधारित एक गैर–आख्यान हो, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभूतिको सेतुका रूपमा प्रस्तुत गरेका छन् ।
लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बीपी कोइरालाको समाजवादका चरण र गुरुङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले उतारेका छन् ।समारोहमा कांग्रेस महामन्त्री शर्माले अन्य इतिहासका पुस्तकमा उल्लेख नभएका घटनाक्रमलाई पराजुलीले पुस्तकमार्फत उजागर गर्न सफल भएको टिप्पणी गरे । बखानसिंह गुरुङको उच्च योगदानलाई पुस्तकले इतिहासमा सजीव बनाएको महामन्त्री शर्माले उल्लेख गरे । कार्यक्रममा कांग्रेस सह–महामन्त्री जीवन परियारले महत्वपूर्ण योगदान पु¥याएका बखानसिंह गुरुङलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले आफ्ना बाजेलाई उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रको शहीद घोषणा गर्नुपर्ने माग राखिन् । कांग्रेसले आफ्ना बाजेको योगदनालाई बिर्सिएको भन्दै भावु्क बनेकि थिइन् । समारोहमा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले लेखक पराजुलीले बखानसिंह गुरुङको ऐतिहासिक योगदान उजागर गरेर महत्वपूर्ण काम गरेको भन्दै बधाई दिए । साहित्यकार अमर न्यौपाने, विश्लेषक शंकर तिवारी, शिखा बुक्सका प्रकाशक पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतका वक्ताले बखान बाट नयाँ इतिहासका कालखण्डबारे महत्वपूर्ण जानकारी पाइने उल्लेख गरे ।साहित्यकार न्यौपानेले पुस्तकमाथि चर्चा गर्दै राजनीतिक परिवर्तनका क्रममा धेरै पुस्तकले छुटाएका घटनाक्रमलाई बखानले समेटेको बताए ।पुस्तकका लेखक तथा पत्रकार पराजुलीले बखानसिंह गुरुङको योगदानलाई साहित्यको माध्यमबाट आकार दिन खोजेको उल्लेख गर्दै पुस्तकको मूल्याङ्कन पाठकको हातमा रहेको स्पष्ट पारे ।पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा उभ्याएको छ। पराजुलीका यस अघि कुमाता, मोम्चो लगायत कृति प्रकाशित भइसकेका छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय पराजुली नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हुन् ।







प्रतिकृया दिनुहोस