आज आमाको मुख हेर्ने दिन, मातातीथमा दर्शनार्थीको घुँइचो
समाज खबर संवाददाता |
काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदात्री आमाको सम्मानमा मनाइने 'मातातीर्थ औँसी' आज मनाइँद्यै छ ।यसैवीच दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको घुइँचो लागेको छ ।मातातीर्थमा बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ ।तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ ।जात्रा व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समितिलगायत स्थानीय सामाजिक सङ्घसंस्था परिचालन भएका छन् ।







प्रतिकृया दिनुहोस