आज : Thursday, May 09, 2024 | २०८१ बैशाख २७ बिहीबार

बिहानैदेखि आकाश खुल्यो, मन्थलीमा अलपत्र पर्यटक सोलु उडे 

समाज खबर संवाददाता |


रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि मन्थलीमा रोकिएका पर्यटकहरू बिहीबार बिहानैदेखि सोलु उड्न लागेका छन् । 
मौसम खराब हुँदा लुक्लामा हवाई उडान हुन नसकेको कारण सोलु हिँडेका पर्यटकहरू पाँच दिनदेखि मन्थलीमा रोकिएका थिए । लुक्लाको मौसम खराब भएपछि उनीहरू मौसम खुल्ने प्रतीक्षामा मन्थलीमा थिए । 
गत शनिबारदेखि बिग्रिएको लुक्लाको मौसम बिहीबार बिहानैदेखि खुलेपछि मन्थलीबाट लुक्लाको उडान बिहानदेखि नै सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । पाँच दिन उडान हुन नसक्दा मन्थलीबाट लुक्लाका २ सय बढी उडान स्थगित भएका थिए । मन्थलीबाट सीता, यति तथा समिट एयरलाइन्सका सातवटा बढी जहाजहरूले पर्यटकहरूलाई लुक्ला ओसार्दै आएका छन् । 
प्लेनको लागि अनुकूल मौसम नभएपछि केही यात्रीलाई हेलिकप्टरले समेत ओसारेका थिए । तर मौसमको प्रतिकूलताको कारण हेलिकप्टरले पनि नियमित सेवा दिन सकेका थिएनन् ।    
काठमाडौंबाट सगरमाथाको आधार शिविर जाने पर्यटकलाई मुख्य सिजनमा मन्थली विमानस्थलबाट सोलु पठाउने गरिन्छ । काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप कम गर्न मन्थलीबाट पर्यटकीय उडान सञ्चालन हुने गरेको हो । 
कामाडौंबाट मन्थलीसम्म सडक मार्गबाट आउने पर्यटक मन्थलीबाट प्लेनमा लुक्ला झर्ने गर्दछन् । उनीहरूलाई काठमाडौंबाट मन्थलीसम्म ल्याउने र मन्थलीबाट सोलु पठाउने टिकट लगायतको सबै काम काठमाडौंबाट नै ट्राभल एजेन्सीहरूले गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस