काठमाण्डौं काँडाघारीमा बिशिष्टिकृत सेवा सहित मानव अंग प्रत्यारोपण अस्पताल सञ्चालन हुँदै
समाज खबर संवाददाता |
काठमाण्डौं । नेपालमा पछिल्लो समय मानव अंग प्रत्यारोपणले चिकित्सा क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । खासगरि मृगौला प्रत्यारोपणले बिरामीको जीवन बचाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । प्रत्यारोपण सेवा नागरिकको सहज पहुँचमा नहुँदा बिरामी एव तिनका आफन्तले हैरानी बेहोर्नु परेको छ । सरकारी सेवा लिन लामो समय कुनुपर्ने, निजी अस्पतालहरुमा महंगो शुल्क तिर्नुपर्ने बाध्यताले बिरामी मर्कामा छन् । मृगौला लगायत मानव अंग प्रत्यारोपणका लागि बर्षेनी ठूलो रकम बिदेशिएको छ । यसै पृष्ठभू्रमिमा निजी क्षेत्रको नाफा नकमाउने संस्था किड्नी होप फाउन्डेसनले नेपालमै सहज रुपमा मृगौला लगायत मानव अंग प्रत्यारोपण सेवा सञ्चालनको तयारी थालेको छ । काठमाण्डौंको एक निजी मेडिकल कलेजमा २ सय भन्दा बढी बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको दक्ष एव अनुभवी प्रत्यारोपण सर्जन डा नारायणप्रसाद भुषाल सहितको टीमले स्थापना गरेको किड्नी होप फाउन्डेसनले काठमाण्डौंको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको हाताभित्र सुविधा सम्पन्न गान्धी तुल्सी मेहर अस्पताल तथा प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।
बरिष्ठ समाजसेवी तुल्सीमेहर श्रेष्ठले महात्मा गान्धीको बिचारबाट प्रभावित भएर नेपालमा चर्खा चलाउने र स्वदेशी कपडा उत्पादन गर्ने अभियान चलाएको ऐतिहासिक स्थानमा यो अस्पताल बन्न लागेको हो । नेपाल र भारतको सम्बन्ध सेतु मानिएको यस ऐतिहासिक स्थानमा बन्न लागेको अस्पतालको भारतको ८० औं स्वतन्त्रता दिवसको दिन पारेर शनिवार एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा काठमाण्डौं क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य सुनिल केसीले मानव अंग प्रत्यारोपण अस्पताल सञ्चालन गर्ने दक्ष चिकित्सकहरु एव अस्पताल ब्यवस्थापन टीमबाट आँफू प्रभावित भएको भन्दै अस्पताल सञ्चालनका लागि आफू, आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी एव सरकारबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल स्थित भारतीय दूतावासका उप नियोग प्रमुख डा राकेश पाण्डेले नेपाल र भारतको सम्बन्धलाई जिवन्त राख्ने स्थानमा अस्पताल बन्न लागेको भन्दै खुशी ब्यक्त गरे । उनले नेपाल र नेपालीको हितमा हुने कुनै पनि सत्कर्ममा भारत सँधै सघाउन तयार रहेको पनि बताए । उनले अस्पताल निर्माण स्थलको पनि अवलोकन गरेका थिए ।
.png)
कागेश्वरी मनोहरा नगरपालिका वडा न ९ का वडाअध्यक्ष अनिल थापाले यस स्थानमा अस्पताल बन्नु नगरपालिका एव वडावासीका लागि गौरवको बिषय भएको भन्दै स्थानीय सरकार अस्प्तालसंग सहकार्य गर्न तयार रहेको बताए । गान्धी तुल्सी मेहर अस्प्ताल तथा प्रत्यारोपण केन्द्रका अध्यक्ष एव किड्नी प्रत्यारोपण सर्जन डा नारायणप्रसाद भुषालले अस्पतालको भावी योजनाको खाका प्रस्तुत गरेका थिए । उनले नाफा रहित सस्थाको रुपमा सरकारी सेवा सरह त्यहि शुल्कमै प्रत्यारोषण गर्ने गरि तयारी गरिएको जानकारी दिए । अस्पताललाई ब्यापार भन्दा पनि सेवाको रुपमा लिएर आफ्नो टीम अघि बढेको पनि उनले जानकारी दिए । उनले मृगौला, मुटु, कलेजो, बोन म्यारो लगायत अंग प्रत्यारोपणका लागि दक्ष चिकित्सकको टीम रहेको पनि जानकारी गराएका थिए ।
कार्यक्रममा महागुठीका कार्यवाहक अध्यक्ष भुवन ढुँगाना, महासचिव गोमा गौतम,कार्यकारी प्रमुख प्रेमप्रसाद लामिछाने लगायतले ऐतिहासिक भूमिमा प्रत्यारोपण अस्पताल बन्न लागेको भन्दै गुठीको तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता जनाएका थिए ।
.png)










प्रतिकृया दिनुहोस