आज : Thursday, May 09, 2024 | २०८१ बैशाख २७ बिहीबार

लम्जुङबाट कास्की छिर्ने नयाँ ट्रेकिङ रुट खोज्दै गर्दा

बिष्णुहरि पौडेल - |


यसपालीको पदयात्रामा नयाँ पदमार्ग खोजी गर्ने सोच पलायो। पुग्न मन लागेको ठाउँ चाहि  लम्जुङ हिमाल आधार शिविर हो।गुगल गर्यौँ, त्यता घुमे–डुलेका साथीहरुसँग बुझ्यौँ । प्राप्त फुट्कर जानकारीकै भरमा कस्कायौं ट्रेकिङ सुजको तुना र बोक्यौँ धरमा थन्किएको   ट्रेकिङ ब्याग। हामीलाई यत्ती थाहा छ कि लम्जुङ हिमालको समिपमा पुग्नु छ र भन्यौँ जता पुगिएला, जहाँ सम्म पुगिएला त्यहाँ बाटै खिचौंला आफ्नै आँखाको क्यामेराले लम्जुङ हिमालको तस्विर। 
देशका ७७ वटै जिल्ला आफ्नै  खुट्टाले हिडेर पुग्ने अभियानमा छौं हामी। उमेरले दुई बिस नाग्दा सोही संख्याको हाराहारीमा नेपालका जिल्लाहरु घुमी सकिएछ । तर छिमेकी जिल्ला लम्जुङ नै छुटेको रहेछ र यसपाली लम्जुङ तिरकै साईत जुर्यो अनि लाग्यौं हामी लम्जुङको सदरमुकाम बेँशिसहर। जमाना सजिला आए, अहिले त पोखराको पृथ्वीचोकबाट बेँशिसहरको लागि ट्याक्सी पाइने, लियौं एउटा ट्याक्सी र हुईकियौं दुई दाजुभाई  लम्जुङ जिल्लाको भ्रमणमा। 
करापुटारको बाटो सट्कट मारेपछि बेशिसहर पुग्न चार घण्टापनि लागेन। बजारको छोटो घुमफिर पछि लम्जुङ घलेगाउ पुग्ने जिप पक्डियौं। जिपलाग्ने भनेपछी बुझिहाल्ने कुरा भयो कि अब हामी कच्ची बाटोमा छौं। स्थलगत बिकास, बाटो र अन्य पुर्वाधार हेर्दा लाग्छ कि यो जिल्लामा पनि गतिलो नेता छैन। अगि बाटोमा ट्याक्सी चालक भाईले भन्दै थिएकी लम्जुङ जिल्ला भरी जम्मा–जम्मी १९ किलोमिटर बाटो मात्र कालो पत्रे छ। यो डाटा हाललाई अण्डर भेरिफिकेसनमा राखियो । 
यस्तै–यस्तै देश बिकासको अवस्था र राजनीतिको विग्रदो प्रभावका प्रसँगहरु निकाली रहदो रहेछु म यात्राको दौडानमा। साथी पुष्पले अनेकन गरि मोडिदिने रहेछ। यस पदयात्राको अन्तिम ओराली झर्दै गर्दा सबै कुरा भन्यो उसले। बाटोमा उसले बोलिरहने एउटा वाक्य छ “हामी घुमफिरको रमाइलोमा छौं, देशको चिन्ता नगरौं होला महोदय“ मेरो ध्यान भङ गराईरहेकोमा अन्ततः उसलाई धन्न्यवाद दिएँ। जिपवाला भाईलाई ठाउँ–ठाउँमा रोक्न लगाएर लम्जुङ बेँशिसहर र लम्जुङ गाउँसहरको दुरी नाप्थ्यौं हामी। गाउँसहर लम्जुङको पुरानो सदरमुकाम पनि हो। क्वहोलासौँथर गाउँपालिकाको बाग्लुङपानीमा जिप रोक्कियो, यो चिया(नास्ता खाने ठाउँ रहेछ। गाडीवालाहरुले यो ठाउँको नाम नै समोसाडाँडा राखेका रहेछन्, चाख्नु परेन त समोसा कत्तिको मिठो छ ? यसै बिच उनिहरु हामीलाई सुनाउदै थिए, घले गाउँ पुग्न अब एक घण्टा पनि लाग्दैन ।  
बेशिसहर बाट गुडेको तीन घण्टाको हाराहारीमा जिप घले गाउँ पुग्यो। साँझ गोँधुली बन्दै थियो भने आँखै सामुन्ने परेका हिमश्रृंखला  सुनौलो रङले पोतिँदै थिए। घले गाउँ बाट लम्जुङ हिमाल, अन्नपूर्ण दोस्रो र तेस्रो, माछापुछ्रे, बुध्द हिमाल, मनास्लु, हिमालचुली लगायतका हिमश्रिन्खला देख्न सकिन्छ। जाडोको याम, क्षणभरमा अन्ध्यारो र चिसो सँग–सगै बढ्न  थालेपछि  हामी बास खोज्नको तर्खरमा जुट्यौँ। वडा अध्यक्ष आसविर गुरुङका अनुसार घलेगाउँमा मात्र ४५ भन्दा बढि घरबास छन्, अनि  हामी दुईभाईलाई एउटा कोठा पाउनु केही गाह्रो भएन, पाइहाल्यौं। दिनभर खुट्टाले हिडेको भन्दा गाडी यात्राको थकान बेषी लाग्छ मलाई। घले आमाले दिएको मिठो खाना खाई पल्टियौँ, हामी यात्राका पात्रहरुः बिष्णुहरि र पुष्पराज। 
क्व्होलासौथर गाउँपालिका वडा न ३ उत्तरकन्या अन्तर्गत पर्छ घले गाउँ। भोलिपल्ट बिहान भने हिमाल खुलेन। ब्रेकफास्ट खाएर गाउँ घुम्यौँ, खाना खाएर घनपोखरी हुँदै लाग्यौँ यसै पालिकाको अर्को लोकप्रिय गाउँ–भुजुङ।
घलेगाउँको बाक्लो बस्ती डाँडामा छ भने भुजुङ केही होचो पाखामा पश्चिम फर्केर बसेको छ। भुजुङ क्व्होलासोँथरको ४ नम्बर वडा हो। वडा अध्यक्ष नारायण गुरुङका अनुसार भुजुङमा ३६५ घरधुरी छन्, जसमा ३०० को हाराहारीमा गुरुङ घर छन्। गुजमुच्छ भै रहेका गुरुङ घरहरु एकसेएक राम्रा देखिन्छन् । हरेक घर पसौं–पसौँ लाग्ने, सबै सँग बोलौं–बोलौँ अनि सबैका घरको चिया खाउँ जस्तो लाग्ने। ए साँच्ची, यहाँ त वर्षौ देखि आफ्नै स्थानिय बगानको चिया खाने रहेछन् अनि  भुजुङ पर्यटनको एउटा आकर्षण रहेछ यहाँको चिया बगान। २०५६–५७ साल देखि वाहिरको चिया भित्रिएको छैन भन्ने ठोकुवा छ स्थानीय समाजसेवी तथा भुजुङ पर्यटन बिकास समितिका अध्यक्ष तुल बहादुर गुरुङ को। अध्यक्ष गुरुङका अनुसार भुजुङमा मात्र ३३ वटा घरबास चल्तिमा छन्। लम्जुङ हिमालको शिर मात्र देखिने भुजुङ गाउँ हिमाली दृश्य अवलोकनको लागि नभई यहाँको मिलेर बसेको गुरुङ बस्ती, गुरुङ सस्क्रिती, बेशी बाट उब्जनी बोक्न प्रयोग हुने तुईन, चिया बगान र नजिकै रहेको सन्तानेश्वर महादेव मन्दिर पर्यटक माज  प्रख्यात रहेको कुरा अध्यक्ष गुरुङ हामी सँगको भेटमा बताउनु हुन्छ।
ब्रेकफास्टमा कोदोको सेलरोटी खाई गाउँ घुम्दै गर्दा गाउका कटुवालले कुलपुजाको दिन(समयको अधिकारिक जानकारी दिन्दै गरेका भेटिए। उनिका अनुसार भुजुङ गाउँका ११ ठाउँमा पुगि कटुवाल कराउनु पर्ने हुन्छ र कटुवालले दिएको सुचना सबैका लागि मान्ने हुन्छ। घुम्दै जाँदा हाम्रो भेट भयो गाउका अग्रज तथा घरबास कार्यक्रमका एक अभियन्ता गोरे गुरुङ। वहाँका अनुसार भुजुङ बासी सबै सँगै बस्न रुचाउछन् अनि गाउमै बस्न रुचाउछन्। त्यसैले त गाउ भरीभराउ छ, गाउँमा कुनै घर खाली छैनन्। अर्को तर्फ उच्च शिक्षा हासिल गर्न भनि शहर बसेका युवा नानीबाबुहरु पनि दसैं तिहारको लामो छुट्टीमा गाउँ आई बेँशिको धान–पराल लगायतका उब्जनी भित्र्याउन बाबु–आमालाई सघाई रहेका छन्। कस्तो खुशी लाग्दो गाउँको बातावरण, बसी रहुँ जस्तो।
घुम्न आएका हामी, एउटै गाउँमा बसी रहने भन्ने  पनि भएन, आज हामी पारीको पसगाउँ पुग्ने जमर्कोमा छौं। तल बेँशीमा झरि मिदुङ खोला तरेर पारी पाखामा रहेको कमा गाउँको बाटो हुँदै मकैङो बन छिचोलेर पसगाउँ पुग्नु छ। साँझ हामी पसगाउँ पुग्दा त्यहाको आथित्यताले लुत्रुक्कै मन पगाल्यो। पसगाउँ ठाँटि मा वि का शिक्षक(शिक्षिका साथीहरुसँग ठट्टा गर्दै अनि गफ्फिदै स्कुलको बाटो गाउँ पसेको सम्झिरहेको छु। वहाँहरुले नै हामीलाई गाउँको बिचमा रहेको घुमाउरो घरमा पुर्याइ यहाँको बास मिलाई दिनु भयो। “यस्ता फरासिला गुरुले सिकाए–पढाएका बिद्यार्थी झन् कति टाठा होलान् है“ हामी दुई भाईलाई साँझको चुस्की लिने चट्नी सरह बन्यो यो प्रसङग । पसगाउँको नजिकै राम्रो ढुङ्गा खानी भएकोले गाउँ भरिकै घरको छानो ढुङ्गाको बनाउने अभियानमा रहेछन् वडा अध्यक्ष मनलाल गुरुङ। उनको अभियानले मुर्त रुप पाओस्।

पालिकाको यस ५ न वडा पसगाउँ बाट पोखरा(लेखनाथको लागि गाडी लाग्ने रहेछ। पोखराको गाडी देख्दा मेरो साथी पुष्पलाई पोखरामा रहेको उस्को ब्यापारको सुर्ता हुन थाली सकेको थियो। पदयात्रा छोट्याएर पोखरा तिर मोडिनु र यात्रालाई निरन्तरता दिनु उस्को लागि बराबर भारका थिए। यानिकी, मैले पनि यहीबाट पोखरा जाउँ भनेँ भने यात्रा टुङिहाल्थ्यो। त्यसो त उ बिना एक्लै अगाडि बड्न म पनि कहाँ सक्थेँ र ? झट्टै हामी एक मन भयौँ र पदयात्रालाई निरन्तरता दिँदै पसगाउँ पारीको अर्को गाउँ सिङ्दी तर्फ लाग्यौँ। झन्डै भुलेको, आजको ब्रेकफास्ट साथी पुष्पले बनायो। उस्को अनुसार गुरुङ आमाले चम्चाले घ्यु धेरै हालेर ताप्के रोटी बिगार्नु भो रे, अनि उ आफुले डाडुले थोरै घ्यु हाली रोटी सपारेँ भन्छ । खुब मिठो गरी खायौं, रोटी र तात्तातो दुध। पसगाउँमा भेटेको मायालाई मनभरी बोकेर हामी झरयौँ सिङ्दीको लागि।

ओ हो हो, पुनहिलको बाटोमा पर्ने उल्लेरीको उकालो के हो र बरै, सिङ्दीको खर्वारी बाटो उक्लिन औधी गाह्रो। टन्टलापुर घाममा यो बाटो छिचोली बल्लबल्ल सिङ्दी पुग्दा गाउँमा खासै मुन्छे भेटिन्नन् त। कार्तिक मासको बाली थन्क्याउने याममा को हुनु गाउँमा ? सबै बेँशी खेत तिर। सोद्धै र खोज्दै पुगियो एक मनकारी समाजसेवी दाजु, कुमार गुरुङको घरमा। आज उहाको मै खाने र बस्ने को मेसो टुङ्यायौँ । खाना खाएर लागियो गाउँ घुम्न। झट्ट हेर्दा भुजुङ र सिङ्दी उस्तै उस्तै लाग्ने रहेछ। सिङ्दीमा मोबाईल टेलिफोन नेटवोर्क कवरेज कमजोर रहेछ। यहाँका वडा अध्यक्ष गीत बहादुर गुरुङ अब यो कमजोर नेटवोर्कलाई सुधार्न लाग्नु हुनेछ। लम्जुङ जिल्ला टेलिकम कार्यालय वा पोखरामा भएको टेलिकमको प्रादेशिक कार्यालयले यस्को समाधान निकालिहाल्छ नि, मात्र एउटा निवेदन र त्यस्को फलोअप चाहियो।
हाम्रो ट्रेकको खास एड्भेन्चर अब शुरु हुँदै छ। एड्भेन्चर  हो– रुदी खोला पारीको छुङ्ला लेक छिचोल्ने र कास्की ताङ्तिङ माथिको कर्पु डाँडा पुग्ने। अहिले सम्म नेपाली पदयात्रीले आँट नगरेको काम। “पहिलो नेपाली पदयात्री बन्ने हो त बिष्णु सर“ वडा अध्यक्ष गीत बहादुर गुरुङ हामीलाई प्रेरणा दिँदै हुनुहुन्थ्यो। तर उतिखेर नै भन्नु हुन्थ्यो “तपाईहरु मात्र त जान सक्नु हुन्न, सिङ्दीको कोही साथी लिएर जानुभयो भने सक्नु पनि होला“ छेउमा रहनु भएका कुमार दाई ले थप्नु भयो “म साथी खोज्दिन्छु, नपाए मै भए पनि जाउला तपाईंहरु लाई लिएर“। उहाँहरु लगायत सिङ्दीमा भेटिनु भएका सबै को एकै मत थियो “जान सक्नु हुन्छ, जानुस्, पहिलो पनि बन्नुस्, शुभकामना छ,तर साथी लिएर मात्रू। 
“ल कुमार दाई, तपाईं बुढो मुन्छे लाई दुखः दिने मनसाय छैन, अरु कोही खोज्दिनुस्“ साथी पुष्पले थपी–थपाई गर्‍यो। को जान सक्छ त ? भेडी–गोठालो वा भेडी गोठ गैरहने मान्छे, अरु गएर त क्यारि मेसो पाउनु ? कुमार दाई को घरमा कचरी नै बस्यो। वडा अध्यक्ष गीत बहादुर गुरुङ, वडा सदस्य बर्ता माया गुरुङ, प्रिय दाजु कुमार गुरुङ लगायतको कोशिसमा हाम्रो लागि साथी भेट्टिए, भोली पल्ट बिहान। ल अब अन्तत सिङ्दी बाट उत्तर– पश्चिममा रहेको कर्पु डाँडाको गन्तब्य तय गरि कस्सियौं हामी। सिङ्दी बासी सबै सबैमा आभार, यो माहोल बनाई दिनु भएकोमा। 
ओरालो बाटो रुदी खोला त पुगि हालियो। खोलामा भएको हाइड्रोपावरमा केहीबेर रुमलियौँ। भाई निरजले केहीबेर रुदीखोलाको बगरमा हिँडाए पछी झाडीले भरेको पाखो देखाएर भन्छन् “दाई ल यही बाट हो उक्लनी”। बाटोको नामो निसान छैन, उनी झाडी फाँड्न लागे। हामी दुई भाई उन्को पछी लाग्न थाल्यौँ। लेकका जुगाले खुट्टा भरिन थाले, जङली कुरो टास्सिएर लगाएका लुगा ढाकिन लागे। बाटो चिप्लो उस्तै, उकालो पनि तेस्तै। बाटो पहिल्याएर झाडी फाँड्दै हिंड्ने बरु ठीक–ठाक् देखिन्छन्, हाम्रो हालत क्षणभर पत्ला भैसक्यो। हामीलाई कमजोर बनाउन हो कि कुन्नी, बिच्छी र सर्पले पनि ठाउँ–ठाउँमा हाम्रो बाटो काटे। तर हाम्रा पहिला रोक्किएनन्। जसै(जसै नरेश भाई अगाडि बढे, उसै–उसै हामीले पक्ष्यायौँ। लाग्थ्यो नरेश भाई, यो बाटोको लागि खास गाईड हुन्, हुनपनि एक पहिला बितरिएनन् उनी। 
झाडी जङलको तल्लो भेगमा धेरै रहेछ, चानचुन एक–डेड घण्टा झाडी वाला कस्ट काटेपछी भेडी गोठका गोठाला हिंड्ने जस्तो बाटो भेटिन थाले। हिँडाई अलिक सजिलो हुँदै गयो, खासमा नरेशलाई सजिलो भयो, ज्यादा झाडी सँग जुध्नु परेन बरा। तेस्तै ३ घन्टाको हिडाई पछी एउटा छोडेको भेडी गोठ भेटियो, ल हामीलाई त घरै भेटिये जस्तो भयो। लेकमा चिसो बढ्दै गएपछी गोठ तल सरेका रे। एकै छिन् गोठमा बसी थकाई मारौं भनेको जुगाले खाएका आफ्नै खुट्टा हेरिसक्नु थिएनन्। पुष्पले ठट्टा गर्‍यो “रक्तदान जीवनदान, छाडिनुस्” । थोरै मात्र बोल्ने नरेशले थप्यो “केही हुन्न जुगाले खाएर, पुरानो रगत जानी नयाँ आउनी हुन्छ”। ल ठीक छ भनियो, बोकी लगेको चिया खाजा खाइयो, फेरी बाटो तताइयो। अर्को ब्रेक फेरी अर्को भेडी–गोठमा, रोक्कियौं, बस्यौँ। चानचुन ४ घण्टाको हिडाई पछी नरेशले फिस्स बोले “लौ जङलको बाटो आधा भयो अब”।
यो घना जङल दिउसै अन्ध्यारो छ। जतिसक्दो छिटो छिचोल्नु छ। पुष्पले आफ्नो कछुवा गतिलाई बढाएको छैन। नरेश भाईले पुष्पको पनि झोला बोक्यो बिचरा। म चाहिं हिंड्न सक्नेमा दरिनु परेको छ, नत्र भरे यही जङलको बास हुन कति बेर ? घरि(घरि म अगाडि हिँडेर बाटो देखाउने टोपलिन्थें, अनि जङलमा भेटिएका फलफुल र कन्दमुल खाईदिन्थ्येँ। मेरा यी हर्कत  पुष्पलाई फिटिक्कै मन परेको थिएन। तर उ बोल्दैनथ्यो, हिंड्नलाई बल साँचेको रे। फाट्ट–फुट्ट जङली जनावर देखिन्थे, नयाँûनयाँ रुप–रङका चरा चुरुङी त कति कति। अब हामी डाँडाको सिरान तिर पुग्दै थियौं, निगालोको ठुलो जङल आयो । बर्खामा पोखरा पुग्ने टुसाको याद आयो। निगालो घारी यती घना कि कुनै पनि घारि बाट फ्याट्ट चितुवा निस्कने हो कि भन्ने डर लाग्ने । साँझ हामी कर्पु डाँडा (३०९० मिटर) पुग्दा हिंडेका घण्टा गन्यौँ, पहिलो पटक भएर होला हामीलाई त पुरै ९ घण्टा लागेछ। 
जे होस् हामी अब गन्तब्यमा पुगेका छौं, आफ्नो लक्ष पुरा गरेका छौं, सिङ्दी बाट कर्पु डाँडा पुग्ने पहिलो नेपाली पदयात्री बनेका छौं। बधाई छ पुष्प, धन्नवाद प्यारो भाई नरेश र पोखरा बाट हामीलाई निरन्तर हौसला र सहयोग गरि रहने दाजु श्रीकान्त सिग्देल अनि मादी–२ ताङ्तिङका वडा अध्यक्ष भोज बहादुर गुरुङ भाई। आजको बास, यहिं कर्पुमा।  
ल अब हामी भन्न सक्छौं, यो ट्रेकिङ रुटको सम्भाब्यता प्रशस्त देखिन्छ। थोडा–बहुत ब्यबस्थापन गर्न सक्ने हो भने कास्की जिल्लाको मादी–०२ ताङ्तिङ–कर्पुडाँडा, र लम्जुङ जिल्लाको क्व्होलासौथोर –०५ सिङ्दी जोड्ने यो पदमार्ग भोलीका दिनहरुमा राम्रो चल्ने छ। अनि सिङ्दी पनि ताङ्तिङ जस्तै पर्यटकिय गाउँको रुपमा दरिने छ। कर्पुडाँडा बाट पदयात्रीहरु सिङ्दीको लागि झर्ने छन् भने, सिङ्दीमा बास बसी कर्पुडाँडा उकालो लाग्ने पाहुनाहरुको  ताँती बन्ने छ। 
हामी भने लम्जुङ हिमाल लाई धितमर्ने गरि कर्पु डाँडा बाटै चुम्मन गरि ताङ्तिङ तिर ओरालो लाग्यौँ। कर्पुडाँडा कम्तिमा एक पटक पुग्नु पर्ने ठाउँ छ है। सके सम्म पुग्नुस्।  सबैमा नमस्कार।    पुण्पराज पौडेलको सहयोगमा तयर पारिएको  

 

प्रतिकृया दिनुहोस