आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

समाज खबर संवाददाता |


पोखरा, 
जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ ।

नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो ।

सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै यसमा थुप्रिएको माटो लगायतका नदजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको बताउनुभयो । यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने बताए  ।

प्रा.डा हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको बताएको छ । यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको टोलीले बताएको छ । फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्र्यानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस