आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

पोखरामा स्रष्टा एक : स्वर अनेक कार्यक्रम सम्पन्न 

समाज खबर संवाददाता |

 


टुक्रा भै म छियाछिया हुनुपरे टुक्रिन्छु आफै बरू,
मेरो  देश म दिन्न टुक्रिन कसै चाहे म आफैँ मरूँ।
हो मेरो दृृढता अखण्ड बलियो नेपाल राम्रो सधैँ,
के हाम्रो रहला समस्त जगमा नेपाल हाम्रो नभै।

पोखरा । पोखरा गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघ सँगै रहेको अमृतकक्षमा महाकाव्यकार एवम् साहित्यकार छन्दमणिद्वारा रचना गरिएको कविताको माथिको कवितांश कवि तारानाथ पराजुलीको मुखारबृन्दबाट शनिबार सुमधुर आवाजमा गुञ्जायमान बनाइरहँदा दर्शकदीर्घामा हुटिङ् र ताली बर्षिएका थिए।हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा लियो क्लब अफ हेमजाको व्यवस्थापनमा शनिबार पोखरामा गरिएको ूस्रष्टा एक स् स्वर अनेकू कार्यक्रम सम्पन्न भएको छ ।

एकल कविता वाचनका श्रृङखला देशव्यापी बनिरहेका बेला यतिबेला नयाँ शैलीको कार्यक्रमका साथ हेमजा साहित्य प्रतिष्ठान नेपालले आफ्नो  रजत जयन्तीका सन्दर्भमा २५ बर्ष २५ कार्यक्रम अन्तरगत यो नविनतम प्रयोग गरेको हो। कार्यक्रममा महाकाव्यकार एवं साहित्यकार छन्दमणिद्वारा सृजना  गरिएका रचनाहरू माथि सुमधुर आवाजका धनी विभिन्न स्वरद्वारा वाचन गराइएको थियो ।

कार्यक्रममा वरिष्ठ लोकगायिका एवम् प्राज्ञ हरिदेवी कोइरालाले आमा शीर्षकको कविता वाचन गरिरहँदा दर्शकदीर्घामा हर्षाश्रु छर्लङ्ग देखिन्थ्यो, डा. जगन्नाथ रेग्मी अनुष्टुप छन्दमा यात्रा हो जिन्दगी हाम्रो यात्राले बन्छ जीवन गाउँदा यात्राका लागि उस्तै हुट्हुटी देखिन्थ्यो, शिव त्रिपाठीले पञ्चचामर छन्दमा श्रीमती शिर्षकमा कविता वाचन गरिरहँदा विवाहितले आफ्नो जोडीलाई र अविवाहितले आफ्नो प्रेम कल्पनामा झुमेको देखिन्थ्यो ।

यसैगरी शुभ शर्माले स्रग्विणी छन्दमा जिन्दगी कविता, रमा खतिवडाले बसन्ततिलका छन्दमा के के भयो। कविता, संयोग बस्यालले पञ्चचामर छन्दमा म चोर हूँ कविता, डा अनिल थापाले शिखरिणी छन्दमा यो शिखरिणी कविता, अव्यग्र अस्मितले मालिनी छन्दमा देशलाई सुधारूँ, वसन्त बाँस्तोलाले शालिनी छन्दमा पोखरा कविता , निकेश गिरीले शोक काव्यांश , सुनिल गायकले भुजङ्ग्प्रयात छन्दमा तिमी, गीता अधिकारी जुनले बहरे मुतकारिबमा गजल, विनम्र विजयले तोटक छन्दमा नवक्रान्ति गरी, जिज्ञासु सापकोटाले मन्दाक्रान्ता छन्दमा पानी, र आर्या त्रिपाठीले प्रमाणिका छन्दमा बालकविता हिमाल र म वाचन गरेका थिए।
कार्यक्रममा प्राज्ञ एवम् स्रष्टाकी सहधर्मिणी छन्दिकाले आफ्नै रचनामा हेरिदेऊ पुलुक्क शीर्षकको श्रृङ्गारिक कविता सुनाएकी थिइन्।

कार्यक्रममा बोल्दै छन्दनायक माधव वियोगीले भने छन्द कवितामा प्रयोग गर्ने गण मात्र नभई जीवनशैली हो ।आज सचेत कविहरु दिनानुदिन छन्द कविता लेखनमा थपिदै जानुभएको छ। अब नेपाली छन्द कविताले विश्वबव्यापकता पाएको छ।त्यसैले अब संख्यामा हैन कविताको गुणमा पनि ध्यान दिन जरुरी छ।

स्रष्टा परिचर्चाकारका रुपमा उभिदै शिक्षासेवी माधवशरण पौडेलले भने  कविवर मुकुन्द शरण उपाध्यायको गाउँमा जन्मिएका छन्दमणि गुरुकै छन्दकाव्यको पाटोमा लागेर आफूलाई राष्ट्रिय स्तरमा नै सशक्त महाकाव्यकार तथा साहित्यकारका रुपमा उभ्याउँदा सम्पूर्ण हेमजाबासीको छाती चौडा भएको छ। मुकुन्द  जन्माएको क्षेत्रले अर्को सशक्त युवा हस्ताक्षर पनि दिएको छ।
कार्यक्रममा बोल्दै महाकाव्यकार एवम् साहित्यकार छन्दमणिले सम्पूर्ण वाचक आयोजक, व्यबस्थापक,सक्रिय सम्पूर्ण अन्य महानुभावलाई धन्यवाद दिए र थपे ( मलाई यो कार्यक्रमले लेखन क्षेत्रमा अगाडि बढ्न थप हौसला प्राप्त भएको छ। यो हौसला,उत्साह र जाँगर थपिदिने तपाईहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

उक्त कार्यक्रममा ज्ञानसागर एकेडेमीमा अध्ययनरत छात्रछात्राहरुले प्रमाणिका छन्दमा स्वागत कविता प्रस्तुत गरेका थिए । हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव परशुराम अधिकारीले गरेका थिए। प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संयोजक सुनिल गायक रहेका थिए।

प्रतिकृया दिनुहोस