पहिलो चरणको निर्वाचन आज, ३१ जिल्लामा झण्डै ३२ लाख मतदाता

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार ०२:०८

काठमाडौं । संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रदेश र प्रतिनिधिससभाको पहिलो चरण निर्वाचन आज हुँदैछ । संविधान जारी भएपछि मुलुकलाई संघीय संरचनामा लैजाने पहिलो खुड्किलोको रूपमा आज देशका ७७ जिल्लामध्ये पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो ।


प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने प्रणाली अन्तर्गतको पहिलो चरणको निर्वाचनमा ७ सय २ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी दिनुभयो । आजको निर्वाचनका लागि ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मतदानमा सहभागिता जनाउन पाउने निर्वाचन आयोगले जनाएको छ । आजको निर्वाचनका लागि २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्रमा निर्वाचन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान गर्न पाउने बताउनुभयो ।

मतदान गर्न जाँदा कुनै कारणवश फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसके वा प्राप्त गरेको परिचयपत्र हराएको वा नष्ट भएको भएपनि सरकारी निकायद्वारा जारी अन्य कुनै फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले निर्वाचनका क्रममा सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सबै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउनसमेत आग्रह गरेको छ ।

यस्तै अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाउनसमेत आयोगले सबै मतदान अधिकृतलाई निर्देशन दिएको छ । यस्तै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदातालाई आफैं मतदान गर्न नसकेमा एकाघरका परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर मतदान गर्न पाउने गरी सहयोग गर्नसमेत आयोगले निर्देश गरेको छ ।

(Visited 1 times, 1 visits today)

१० मंसिर २०७४, आईतवार ०२:०८ मा प्रकाशित