ब्रिगेडलाई सरस्वतीले हरायो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार ०८:५१

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २-१ गोलले हराएको छ। सरस्वतीका फ्रान्सिस अनयेमाले निर्णायक गोल गरे।

अनयेमाले ५२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। त्यसअघि तेस्रो मिनेटमा सरस्वतीलाई विनोद केसीले अग्रता दिलाएका थिए। चार मिनेट लगत्तै ब्रिगेडले खेल बराबरीमा ल्याएको थियो। सातौँ मिनेटमा ब्रिगेडका विदेशी खेलाडी करिम बुसारीले गोल गरेका थिए।

सरस्वतीले चार खेलबाट ६ अंक जोडेको छ। ब्रिगेडको चार खेलबाट तीन अंक छ। मंगलबार हुने अर्को खेलमा मनाङ मर्स्याङ्दीले शसस्त्र प्रहरी बल-एपिएफ क्लबसँग खेल्दै छ। दिउँसो साढे २ बजे सुरु हुने खेलमा जित हात पारे मनाङ शीर्षस्थानमा उक्लने छ।

उसले अघिल्ला तीनवटै खेल जितेको थियो। पछिल्लो खेलमा थ्रीस्टारलाई २-१ गोलले हराएको मनाङ उच्च मनोबलमा छ। तीन खेलबाट ९ अंक भएको मनाङ तेस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको नेपाल आर्मीको चार खेलबाट १० अंक छ। चार खेलबाट ९ अंक भएको थ्रीस्टार दोस्रोमा छ। चौथो स्थानमा रहेको संकटाको चार खेलबाट ९ अंक छ। तीन खेलबाट केवल चार अंक भएको एपिएफ तालिकाको आठौँ स्थानमा छ।

पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको एपिएफले दोस्रोमा फ्रेन्ड्सलाई १-० गोलले हराएको थियो। तेस्रो खेलमा ब्रिगेड ब्वाइजसँग ३-१ गोलले पराजित भएको थियो।

(Visited 1 times, 1 visits today)

११ मंसिर २०७५, मंगलवार ०८:५१ मा प्रकाशित

Popular Posts